छिमेकी मुलुक चीनबाट फैलिएको कारोना भाईरसले विश्वव्यापी रुपमा महामारीको रुप धारण गरेपछि त्यसको जोखिम न्यूनिकरणकालागि संघीय सरकारले देशभर औपचारिक कार्यक्रम, सभा, सम्मेलनमा रोक लगाउँदै भेला हुन तथा सामुहिक गतिबिधि नगर्न सर्वसाधारणलाई समेत आह्वान गरेको थियो ।
त्यसलगत्तै प्रदेश सरकारले पनि सोही प्रकृतिको निर्णय गर्यो । तर संघीय सरकारका मन्त्रीहरु तथा प्रदेश सरकारका मन्त्रीहरुले समेत आफैले गरेको निर्णयको खिल्ली उडाउँदै औपचारिक कार्यक्रम तथा सभा सम्मेलनमा सहभागि हुदै आएका छन् भने स्थानीय सरकारले समेत संघीय तथा प्रदेश सरकारको निर्णय कार्यान्वयनलाई चुनौति दिईरहेका छन् ।
वडाको सिफारिस तथा बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन रुपन्देही, प्रदेश सरकारको समेत स्वीकृतिमा यहि फागुन २१ गतेदेखि साना तथा घरेलु उद्योग महासंघ महिला उद्यमी समितिले बुटवलको देवीनगरमा सञ्चालन गरेको मेला बिचमै आएर प्रशासनले जवरजस्त बन्द गरीदियो । यद्यपी १९ गते प्रदेश सरकारले कार्यक्रम मेला महोत्सव नगर्न र नगराउने निर्णय गरेपनि तयारी भएकाले त्यसलाई सञ्चालन गर्न प्रदेश सरकारले मौखिक स्वीकृति दिएको महिला उद्यमी समितिका अध्यक्ष शान्ति शर्माले बताउनु भयो ।
त्यसो त प्रदेश सरकारले आफैले गरेको निर्णयका बिरुद्ध हुनेगरी प्रदेशका मन्त्रीहरुनै औपचारिक कार्यक्रममा सहभागि हुँदै आएका छन् । आफैले गरेको निर्णलाई तिलाञ्जली दिँदै भोली मात्रै तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ‘प्लाष्टिक मुक्त’ तिलोत्तमा नगरपालिका घोषणा गर्नकालागि संघीय सरकारका कृषि, पशुपन्छी तथा सहकारी मन्त्री घनश्याम भुसाल र प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी आउने तयारी भएको छ ।
‘प्लाष्टिक मुक्त तिलोत्तमा नगरपालिका’ घोषणा तयारी पुरा गरेको बारेमा जानकारी गराउनकालागि बिहिबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रीहरु सहभागि हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी गराउनु भएको हो ।
संघीय सरकारले गरेको निर्णय कार्यान्वयनकालागि सरकारले स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । त्यसैका आधारमा प्रशासनले सभा सम्मेलन लगायतका कार्यक्रम नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी गराउनु भयो । ‘हामीले कार्यक्रम नगर्न आग्रह गरेका छौं ।’ उहाँले भन्नुभयो–‘स्थानीय तह पनि सरकार नै भएकाले हामीले हस्तक्षप गर्न अलि मिल्दैन ।’
यता तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले कोरोना भाईरसको बिसम परिस्थितीका कारण औपचारिक रुपमा घोषणाको कार्यक्रम मात्रै हुने बताउनु भयो । उहाँले जिल्ला प्रशासनले आग्रह गरेपनि प्रदेश सरकारको समन्वयमा कार्यक्रम तयारी गरिएको र उक्त कार्यक्रममा कोरोना भाईरसको जनचेतनामुलक कार्यक्रम समेत गर्ने भएकाले संघीय तथा प्रदेश सरकारका बिरुद्ध नभएको प्रष्ट्याउनु भयो ।