शाईन रेसुङ्गा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीको पाँचौं नम्बरमा

1.3K

शाईन रेसुङ्गा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीको पाँचौं नम्बरमा

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चुक्ता पुंजी ५० गुणाले बृद्धि भएको छ । स्थापना कालमा ६ करोड चुक्ता पुंजीबाट कारोबार शुरु गरेको बैंकले बैंक स्थापना भएको ११ वर्षको अवधिमा ५० गुणाले चुक्ता पुंजी बृद्धि गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो । देशभरका करिब दुई दर्जन विकास बैंकमध्ये पुस मसान्तसम्मको विवरणमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा समेत शाइन रेसुंगा पांचौं स्थानमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनु भयो ।
बैंकले ५० गुणाले चुक्ता पुंजी बृद्धि गरेसंगै बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बांड्ने भएको छ । बैंक सञ्चालक समितिको चैत १ गते बसेको वैठकले आर्थिक वर्ष २०७५÷७६ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात आगामी साधारणसभाबाट पारित गरेर बोनश शेयर वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी गराउनु भयो । उहाँका अनुसार ३९ करोड ३४ लाख रुपैयां मुनाफा बराबरको १५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी तीन अर्ब एक करोड हुने छ । हाल बैंकको चुक्ता पुंजी दुई अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
बैंकले हाल २७ अर्ब ६५ करोड निक्षेप संकलन र २४ अर्ब ८५ करोड रुपैयां कर्जा प्रवाह गरेको र कूल कजामध्ये पुस मसान्तसम्म उत्पादनशिल क्षेत्रमा २६.२७ प्रतिशत र कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १५.३० प्रतिशत लगानी गरेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराईले जानकारी दिनुभयो । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा गुल्मी जिल्ला कार्यक्षेत्र बनाई स्थापना भएको रेसुङ्गा विकास बैंक २०६९ सालमा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो । दुई बैंकको मर्ज भएपछि शाइन रेसुंगाले प्यूठान कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभ्न सफल भयो । यस्तै बैंकले गतवर्ष तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार शुरु गरेको थियो ।
हल बैंकको रोल्पा र रुकुम बाहेक प्रदेश ५ का १० जिल्ला तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय सञ्चालन गरिरहेको र बैंकको ग्राहक संख्या चार लाख भन्दा बढी पुगेको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।
बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित अन्य प्रदेशका मुख्य शहरहरुमा समेत शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि बैंकले प्रदेश ५ लाई नै मुख्य केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गर्ने र राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनु भयो ।
शुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई अंगालेर बैंक अघि बढेकाले फरक फरक भूगोलका पांचवटा बैंकको मर्जर सफल भएर झनै बलियो र विश्वासिलो बैंकको रुपमा अघि बढेको प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पार्नुभयो ।
हाल प्रदेश ५ मा मात्रै बैंकका ६८ वटा शाखा कार्यालय रहेका छन् । प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय र आर्थिक कारोबार हुने बैंक शाइन रेसुंगाले कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीति अनुसार शिक्षा, स्वास्थ्य, सरसफाई, दुर्घटना न्यूनिकरण र बित्तीय साक्षरता बृद्धिका लागि समेत काम गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुश्करराज जोशीले बताउनुभयो ।