फोहोर व्यबस्थापनका लागि नागरिक समाजद्वारा नगरप्रमुखको ध्यानाकर्षण

992

फोहोर व्यबस्थापनका लागि नागरिक समाजद्वारा नगरप्रमुखको ध्यानाकर्षण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा छरपष्ट फैलिएको फोहोर व्यबस्थापनकालागि रुपन्देही नागरिक समाजले नगरप्रमुख हरि अधिकारीलाई ध्यानाकर्षण गराएको छ । रुपन्देही नागरिक समाजको बुधबार गएको टोलीले नगरप्रमुख अधिकारीलाई बजारको फोहोर उठ्न नसक्नुको कारण र आगामी दिनमा यस्तो वातावरण आउन नदिनकालागि अपनाउनु पर्ने पूर्व तयारीका बारेमा ध्यानाकर्षण गराईएको समाजका सचिव दिपक रोकाले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष रमेश केसी, संरक्षक पूर्वमन्त्री प्रकाश चित्रकार, उपाध्यक्षहरु श्रीराम गुप्ता, शारदा पोखरेल, सचिव दिपक रोका, कोषाध्यक्ष चन्द्रबहादुर रोका, सिए गणेश चापागाई, प्रदुमान श्रेष्ठ लगायतलको टोलीले नगरको सरसफाईका बारेमा नगरप्रमुखलाई ध्यानाकर्षण गराएको हो ।
त्यस अवसरमा नगरप्रमुख अधिकारीले नगरको सरसफाईकालागि डम्पिङ्साईडमा लगेर व्यबस्थापन गर्ने बिषयमा सरोकारवालासंग सल्लाह भईरहेको जानकारी गराउनु भयो । त्यसै अवसरमा नगरप्रमुख अधिकारीले कोरोना भाईरसको संक्रमण भित्रिहालेमा बिरामीलाई उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा दश वटा र भिम अस्पताल भैरहवामा ४ वटा आईसोलेटेड वेडको व्यबस्था भईसकेको जानकारी गराउँदै अन्य विकल्पहरुका बारेमा पनि छलफल भईरहेको उल्लेख गर्नुभयो ।
रुपन्देही नागरिक समाजको टोलीले मालपोत कार्यालय भैरहवा र नापी कार्यालय भैरहवामा पनि स्थलगत अवलोकन गरि त्यहा भेटिएका वेथितिहरुका बारेमा सम्बन्धित कार्यालयका प्रमुखहरुलाई ध्यानाकर्षण गराईएको थियो । त्यस्तै ती कार्यालयमा अव्यबस्थित भिडभाड र त्यसबाट कोरोना भाईरस संक्रमणको प्रकोप समेत बढ्न सक्ने बारेमा पनि कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराईएको सचिव रोकाले जानकारी गराउनु भयो ।