अन्ततः एसईई परीक्षा नलिने सरकारको निर्णय,विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण

804

अन्ततः एसईई परीक्षा नलिने सरकारको निर्णय,विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण


बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

तर तत्काल सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको एक मन्त्रीले बताए । उनका अनुसार अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।

एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले स्थगित गर्ने निर्णय गरेको थियो । परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।