खुकुलो लकडाउन : शिक्षकहरु विद्यालय जानु पर्ने, विद्यालय प्रशासन खुल्ने

1.1K

खुकुलो लकडाउन : शिक्षकहरु विद्यालय जानु पर्ने, विद्यालय प्रशासन खुल्ने


बुटवल । लकडाउन खुकुलो बनाउने सरकारको निर्णय सँगै लामो समय देखि घरै बसेका शिक्षकहरु पनि विद्यालय जानु पर्ने भएको छ । कोरोना भाईरस (कोभिड १९) को जोखिम न्यूनीकरण गर्न भन्दै चैत ११ गते देखि जारी लकडाउनको मोडालिटि परिवर्तन गर्ने सरकारको निर्णयमा विद्यालयको प्रशासन खुल्ने विषय समेत समावेश भएसँगै शिक्षकहरु विद्यालय जानु पर्ने भएको हो ।

साविककै शैलीमा पठनपाठन नचल्ने यकिन गर्दै सरकारले हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । विद्यार्थीको ५ वर्ग निर्धारण गरेर जारी उक्त निर्देशिकाले गरेको व्यवस्था कार्यान्वयन गर्न शिक्षक विद्यालय जानु पर्ने भएकाले उक्त विषयलाई मन्त्रीपरिष बाट निर्णय गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

’पहिले जस्तो गरेर पठन पाठन चल्दैन, तर लामो समय सम्म विद्यालयका गतिविधि त रोक्नु भएन, त्यही मान्यतामा हामीले निर्देशिका जारी गर्यौं, त्यो कार्यान्वयन गर्न शिक्षक विद्यालयमा पुग्नु पर्यो, शिक्षाका कर्मचारी कार्यालयमा पुग्नु पर्यो’ उनले भने ’अहिले आई परेको परिस्थिती विशेष हो, विशेष परिस्थितमिा विशेष काम गर्नु जरुरी छ, बालबालिकाको सिकाइको मुख्य पक्ष शिक्षक भएकाले उहाँहरुलाई विद्यालय जाने र वैकल्पिक विधिबाट सिकाइ अघि बढाउनका लागि बाटो खोलिएको हो ।’

लामो समय घरमै बसेका शिक्षकहरुलाई जतिसक्दो छिटो विद्यालय जाने वातावरण बनाउनु पर्ने शिक्षाविद्हरुले राय व्यक्त गर्दै आएका थिए । प्रत्यक्ष पठनपाठन हुन नसके पनि विद्यालयको गतिविधि शुरु गर्नु पर्ने र शिक्षक तथा बालबालिका बिचका सम्बन्ध शुरु गर्न ढिलाई गर्न नहुने उनीहरुको तर्क रहँदै आएको थियो ।