पाल्पामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि आइसोलेशनको अभाव भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकामा सोमवारमात्रै ८० जना सङ्क्रमित थपिएका छन् । आइसोलेशनको अभाव भएपछि उनीहरुलाई अहिले बसीरहेको क्वारेन्टिनमै सुरक्षित साथ राखिएको छ ।
सोमवार देखिएका सङ्क्रमितमध्ये पूर्वखोला १ स्थित अकला आधारभुत विद्यालयको क्वारेन्टिनमा ३५, वडा नं ५ को गणपति माविको क्वारेन्टिनमा २२, वडा नं ३ को जनउज्ज्वल आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेका २३ जना छन् । यससंगै गाउँपालिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या ९२ पुगेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । “सङ्क्रमित बढ्दै जान थालेको र आइसोलेशनको अभाव हुदा क्वारेन्टिनलाई नै आइसोलेशन बनाएर राख्न थालियो, सङ्क्रमितको अवस्था भने सामान्य छ” प्रमुख ढकालले भन्नुभयो ।
पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको समन्वयमा रम्भा ५ ताहुँमा २३ शैयाको आइसोलेशन तयार पारिएको छ । जहाँ पूर्वखोलाका दश सङ्क्रमित रहेका छन् । यहाँको आइसोलेशन कक्षको क्षमता कम, अर्कोतर्फ आइसोलेशन कक्ष सम्म लैजान ग्रामीण सडक वर्षाले हिलाम्य हुदा समस्या भएकाले क्वारेन्टिनलाई आइसोलेशन बनाएर राखिएको प्रमुख ढकाल बताउनुहुन्छ ।
हाल गाउँपालिकाका सङ्क्रमितहरु गणपति माविको क्वारेन्टिनमा २२, जनउज्ज्वल आधारभुत विद्यालयको क्वारेन्टिनमा २३, अकला आधारभुत विद्यालयमा ३५ र रम्भा ताहुँको आइसोलेशनमा दश जना रहेका छन् । एक जनाको मृत्यु भइरसकेको छ भने एक जनालाई तानसेनको आइसोलेशनमा राखिएको छ । स्वाव परिक्षणका लागि लगिएका एक सय ४३ जनाको भने रिपोर्ट आउन बाँकी छ । सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने हुदा गाउँपालिकाले उद्बुद्ध मावि र गणपति माविमा करिव दुई सय शैयाको आइसोलेशन कक्ष तयार पार्ने योजना बनाएको छ ।
त्यसैगरी माथागढी गाउँपालिकामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेशन तयार पारिने भएको छ । हाल माथागढी, तिनाउ, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाको समन्वयमा सदरमुकाम तानसेनमा एक सय ३० शैयाको आइसोलेशन तयार पारिएको छ । यहाँ देखिएका सङ्क्रमितलाई तानसेनको नर्सिङ् कलेज र भुषालडाँडा माविमा तयार पारिएको आइसोलेशनमा लगेर राखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ ।
वर्षायाम सुरु भएको र सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको हुदा सदरमुकाममा तयार पारिएको आइसोलेशन अभाव हुने अवस्था रहेकाले गाउँपालिकाका क्वारेन्टिनलाई नै आइसोलेशन बनाउने अध्यक्ष मगरले बताउनुभयो । यहाँ सोमवार १२ जना थपिएसंगै सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । त्यसैगरी रम्भा गाउँपालिकामा देखिएका १६ सङ्क्रमितलाई लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशनमा राखिएको छ । गाउँपालिकामा भारतीय मुलुकबाट फर्कने बढेकाले कोरोना सङ्क्रमित बढ्न सक्ने हुदा क्वारेन्टिनलाई नै व्यवस्थित बनाएर आइसोलेशन बनाइने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।
सोमवार देखिएका सङ्क्रमितमध्ये तीन वर्ष देखि ५८ वर्ष उमेर समुहका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रसाद पन्थीले जानकारी दिनुभयो । अहिलेसम्म पाल्पा जिल्लामा सङ्क्रमितको संख्या एक सय ८६ पुगेको छ । जसमा बगनासकालीमा १७, रैनादेवी छहरामा २०, पूर्वखोलामा ९२, रम्भामा १६, माथागढीमा २७, रिब्दिकोटमा चार, तिनाउँमा तीन, रामपुर र निस्दीमा दुई÷दुई जना र लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन कक्षमा रहेका तीन जनामध्ये दुई जना गुल्मी र एक जना अर्घाखाँची जिल्लाका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणका कारणबाट भने जिल्लामा एक जनाको मृत्यु भएको छ भने सात जना निको भएर घर फर्केका छन् । जसमध्ये पाँच जना तानसेनमा रहेका आइसोलेशनमा यसभन्दा अघि नै निको भएर घर फर्के भने रामपुर नगरपालिकाको आइसोलेशनमा रहेका दुई जना मंगलवार निको भएर घर फर्केको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
पाल्पाको पूर्वखोला गाउँपालिका ३ अर्खलडाँडा स्थित जनउज्ज्वल आधारभुत विद्यालयको क्वारेन्टिनमा एकैदिन २३ जनामा कोरोना सङ्क्रमित देखिएपछि टोल शिक्षा कार्यक्रम स्थगित गरिएको छ । गाउँको क्वारेन्टिनमा एकै दिनमा धेरै सङ्क्रमित देखिएपछि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै टोल टोलमा पढाउँदै आएको टोल शिक्षा कार्यक्रम स्थगित गर्नु परेको प्रधानाध्यापक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
अर्खलडाँडा गाउँका छ स्थानमा दश जना शिक्षक विभाजन गरेर असार १ गतेबाट पढाउन थालिएको थियो । यहाँका विद्यार्थीमा पनि मौसमी रुघाखोकी लाग्न थालेपछि अभिभावक र विद्यार्थीमा त्रास बढ्न थालेकाले कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपाउँदै टोल शिक्षा केही समयमा लागि बन्द गरिएको छ ।
भौतिक दुरी कायम गरी मास्क, स्यानीटाइजरको प्रयोग तथा साबुनपानीले हातधुन लगाएर पढाउँने गरेपछि विद्यार्थी पनि शिक्षण कार्यमा सक्रिय रहेका अवस्थामा पुनः टोल शिक्षा कार्यक्रम बन्द गर्नु परेको शिक्षक डिल्लीराज पंगेनी बताउनुहुन्छ । यहाँको जनउज्ज्वल आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेका २९ नागरिकमध्ये २३ जनाको कोरोना सङ्क्रमणको नतिजा पोजेटिभ आएको छ । सङ्क्रमित सबै भारतीय मुलुकबाट आएका नागरिक हुन् ।