बुटवलको खस्यौली साप्ताहिक तेस्रो बर्षमा प्रवेश

915

बुटवलको खस्यौली साप्ताहिक तेस्रो बर्षमा प्रवेश

sबुटवल,मंसिर । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले दोस्रो बार्षिक उत्सव कार्यक्रम विहिबार बुटवलमा सम्पन्न गरेको छ । स्थानीय बिषयलाई प्राथमिकता दिएर प्रकाशित पत्रिकाले दोस्रो बार्षिक उत्सवको अवसरमा सञ्चारकर्मी, उद्योगी व्यवसायी तथा विज्ञापनदाताहरुका विचमा चियापान कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले संविधान निर्माणपछि जाती, धर्म र समुदायको नामा मानिसहरु विभाजित भएकाले त्यसलाई जोड्ने काम सञ्चारमाध्यमको काँधमा आएको बताउनुभयो । मिडियाले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भएकाले समाजले खोजेको खबर दिनुपर्ने बताउनुभयो । खस्यौली साप्ताहिकले एउटा स्थानीय पत्रिकाले गर्नुपर्ने काम गरेको भन्दै आगामि दिनमा अझ स्थानीय बिषयमा गहन खोजका साथमा सामाग्री दिन सुझाव दिनुभयो ।

बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले बुटवलको मिडियाले नेपाललाई नै नेतृत्व गरेकाले यहाँको पत्रकारिता मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकारितामार्फत दलाली गर्न नहुने भन्दै न्यायको अभियानमा निरन्तर खटन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि अर्याल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले पत्रकारिताको विकासका निम्ति संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा पत्रिकाका प्रबन्ध निर्देशक बीरेन्द्र कुँवरले श्रमजीवीको लगानी र स्वामित्वमा प्रकाशन भएको पत्रिकाले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको सेवा सुविधा दिन सफल भएको बताउनुभयो ।

पत्रिकाका कार्यकारी सम्पादक विनोद परियारले पत्रिकाले स्थानीय मुद्धालाई प्राथमिकता दिएर स्थानीय अखबारको दायित्व निर्वाह गरेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागिहरुले लिखित रुपमा शुभकामना समेत दिएका थिए । खस्यौली साप्ताहिक २०७० साल कार्तिकदेखि प्रकाशन हुन थालेको हो ।