कोरोना भाईरस (कोभिड–१९)को संक्रमण समुदाय स्तरमा बढ्दै गएपछि बुटवलमा लकडाउन घोषणा गरिएको छ । संक्रमणको जोखिम बढ्न नदिनकालागि बुटवल उपमहानगरपालिकाले बिहीबार राती १२ बजेदेखि आगामी भदौ ५ गतेसम्मकालागि पूर्ण रुपमा लकडाउन घोषणा गरेको हो ।
बुटवल उपमहानगरपालिकाको कोभिड–१९ संकट व्यबस्थापन समितिको बैठकले लकडाउन घोषणा गरेसंगै शुक्रबार देखि अत्यावश्यक बाहेकका सबै काममा रोक लागेको छ । नगरपालिकाले बुटवल बाहिर जाने तथा बुटवल भित्रिनेकालागि २४ घण्टाको समय दिएर बिहिबार राती देखि लकडाउन गर्ने निर्णय गरको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख चक्रपाणी शर्माले जानकारी गराउनु भएको छ ।
लकडाउन अवधिमा स्वास्त्य सुरक्षाका मापदण्ड पुरा गरि अत्यावश्यक स्वास्थ्य, दुग्ध तथा खाद्यान्न, तरकारी पसल लगायतका सेवा भने सञ्चालन गर्न पाईने छ । त्यस्तैगरी लामो दुरीमा सञ्चालन हुने सवारी साधनले बुटवलमा यात्रु ओराल्न पाउने छैनन् । त्यस्तैगरी उद्योगमा काम गर्ने कामदार कर्मचारी बाहिर निस्किन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाएर उद्योग सञ्चालन गर्न दिईने नगरपालिकाले जनाएको छ ।
लकडाउन अवधिमा नगरपालिका तथा वडाहरुबाट हुने अध्यावश्यक बाहेका सबै सेवा बन्द हुनेछन् । बैक तथा बित्तिय संस्थाले पनि ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित गराएर सञ्चालन गर्ने तथा सार्वजनिक नीजि तथा सरकारी सवारी साधन समेत अत्यावश्यक बाहेक सञ्चालन गर्न नपाईने नगरपालिकाले जनाएको छ ।