समुदाय स्तरमा कोरोना भाईरस संक्रमण बढ्दैगएको रुपन्देहीमा शुक्रबार थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै रुपन्देहीको कोरोना भाईरस संक्रमितको संख्या ४१७ पुगेको छ । त्यसमध्ये ३२८ जना निको भई घर फर्किसकेका छन् भने बाँकी ७७ जनाको अस्पतालमा उपचार भईरहेको बताईएको छ ।
नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी गराउनु भएको छ ।
शुक्रबार भेटिएका ११ जनामध्ये बुटवल–११ देवीनगरका ४ जना, बुटवल १६ का एकजना, सिद्धार्थनगरका ६ जना रहेका छन् । त्यसैगरी रुपन्देहीमा पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएका २४४ जनाको रिपोर्ट आउन बाँकी रहेको र ४८७ जना क्वारिन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।