एउटै धारा र शौचालय प्रयोग गर्न बाध्य छन् बुटवलको आईसोलेसनमा बस्ने संक्रमितहरु

1.3K

एउटै धारा र शौचालय प्रयोग गर्न बाध्य छन् बुटवलको आईसोलेसनमा बस्ने संक्रमितहरु

बुटवलको देवीनगरमा रहेको आईसोलेसन सेन्टरमा शौचालय र पानीको उचित व्यवस्थापन नहुदाँ त्यहाँ बसिरहेका कोरोना संक्रमितलाई कठिनाई भएको छ । शौचालय र पानीको धारो निर्माणको लागी प्रसस्त ठाऊँ भएपनि आईसोलेटेड व्यक्तिहरुलाई जानाजान दुःख दिने काम भइरहेको उनीहरुको गुनासो छ ।

देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरको १९ वटा कक्षलाई आईसोलेसन कक्षको रुपमा प्रयोग गरिएको छ । उक्त सेन्टरमा भदौ ६ गते सांझसम्म ३५ जना संक्रमित रहेका छन् । तर सो आईसोलेसन सेन्टरको शौचालय र पानीको व्यवस्थापनमा ध्यान नदिदा आफूहरुले दुःख पाएको उनीहरुको गुनासो छ ।
उक्त सेन्टरमा दुई वटा भवनमा १९ वटा आईसोलेसन कक्ष छ । ९ वटा कक्ष रहेको एउटा भवनका सबै संक्रमितले एउटै शौचालय प्रयोग गरिरहेका छन् भने अर्को १० वटा कक्ष रहेको भवनमा रहेका सबै संक्रमितले एउटै शौचालय प्रयोग गर्न बाध्य छन् ।
त्यस्तै पिउने पानीका लागि पनि उनीहरुले एउटै धारो प्रयोग गरिरहेका छन् । एउटै धारोबाट उनीहरु सबैले पानी भर्ने, भाडा माज्ने लगायतका काम गर्नु परेको छ । धारो खोल्दा र बन्द गर्दा पातको प्रयोग गरिरेको र ग्लब्सको व्यवस्था पनि नभएको त्यहाँ बस्दै आएका एक संक्रमितले जानकरी दिए । यस्तो समयमा स्यानिटाईजर र ग्लब्स अनिवार्य भएपनि सो आईसोलेसन सेन्टरले उपलब्ध नगराएको उनको भनाई छ ।
सबैले एउटै शौचालय र धारोको प्रयोग गर्दा थप संक्रमणको जोखिम त छँदैछ, काम गर्न पनि झन्झट हुने गरेको उनीहरुको बताए । “आईसोलेसन रेखदेख गर्नेलाई लेग बेसिनको व्यवस्था गरिएको छ ।’’ त्यहा रहेका एक संक्रमितले भने–“आईसोलेसनमा ३५/३६ जना संक्रमित छन् तर उनीहरुलाई एउटा मात्र पानी टंकी र धारो उपलब्ध गराईएको छ ।’’

आईसोलेसन सेन्टर रेखदेख गर्ने कर्मचारीलाई यस विषयमा पटक पटक जानकरी गराउदा पनि सुनुवाई नभएको उनले बताए । “बेलाबेलामा नगरका प्रतिनीधि आउछन् ।’’ उनले भने–“हामीले यस विषयमा जानकरी पनि गराउछौ तर काम हुन्छ भन्ने आस्वाशन मात्र पाईयो, काम भएन ।’’
आईसोलेसन सेन्टरका इंचार्ज खिमबहादुर थापाका अनुसार शौचालय र धाराको समस्या पुरानै भएको र यस विषयमा आफुले बुटवल उपमहानगरपालिकामा पटक पटक जानकरी गराएको बताउनु हुन्छ । ‘‘पटक पटक जानकरी गराउदा पनि बुटवल उपमहानगरपालीका किन मौन छ ? कि यो काम अहिलेको समयमा प्राथमिकता सुची भित्र पर्दैन ?’’ संक्रमितहरुको प्रश्न छ ।
आईसोलेसन सेन्टर सुरु भएको ३ महिना भैसकेको छ । यधपि अहिलेसम्म यसको उचित व्यवस्थापन हुन सकेको छैन । कोरोना संक्रमित आउँछन १४ रात काट्छन अनी जान्छन । गुनासो पनि आउँछ अनि आफै सेलाउँछ । यस्तै मानसिकताले गर्दा यहाँको शौचालय र धाराको काममा ढिलाई भएको पो होकि भन्ने प्रश्न पनि उब्जिएको छ । अत्यावश्यक कुराको तत्काल नै व्यवस्थापन हुनुपर्नेमा आईसोलेटेड व्यक्तिहरुले जोड दिएका छन् ।