कोरोना संक्रमण फैलिन नदिन लकडाउन : स्वास्थ्य मापदण्डको फितलो कार्यान्वयन

1.3K

कोरोना संक्रमण फैलिन नदिन लकडाउन : स्वास्थ्य मापदण्डको फितलो कार्यान्वयन

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा स्वास्थ्य मापदण्ड लागु गरेपनि त्यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न र गराउनकालागि आदेश जारी गरेपनि प्रशासनको आदेश कागजमा मात्रै सिमित देखिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईसर (कोभिड–१९) को संक्रमण समुदायमा फैलिन नदिन प्रशासनले २ भदौ २०७७ मा गरेको आदेश आईतबार थप गरि १४ गतेसम्म पु¥याएको छ । प्रशासनले जारी गरेको आदेशमा खुल्ला स्थानमा भेला हुन तथा भिडभाड र सभा जुलुस गर्न, भिडभाड हुने गतिबिधि जात्रा तथा महोत्सव गर्न, नित्य हुने पुजा बाहेक धार्मिक गतिबिधि गर्न, उद्योग÷व्यापार÷व्यबसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप, चाडपर्व लगायतका धार्मिक सांस्कृति कार्यकालागि हुने जमघट, शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सभा गोष्ठि, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, समुहमा खेलिने खेलकुद, खेल प्रस्तुती, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न, फूटपाथ, खुल्ला ठाउँ र ठेला गाडा÷साईकलमा सञ्चालन हुने व्यबसाय तथा कवाडी संकलन गर्न निशेध गरेको छ ।
त्यस्तैगरी उद्योग व्यबसाय सञ्चालनकालागि स्वास्थ्य मापदण्ड विपरित श्रमिक÷कामदारको ओसारपसार गर्न, टेक अवे बाहेकका होटल तथा रेष्टुराँ सञ्चालन गर्न, बेलहीया नाका बाहेक गैरकानुनी रुपमा अन्य नाकाबाट मानिस ल्याउन लैजान, नीजि तथा सार्वजनिक यातायात सञ्चालन गर्न निशेध गरेपनि प्रशासनको कडा आदेशलाई वास्ता नगरी सडकमा आवत जावत गर्ने गरिरहेका छन् ।
तर प्रशासन भने आफैले जारी गरेको आदेशको कार्यान्वयनमा तदारुत्ता देखाएको छैन । प्रशासनले जारी गरेको आदेशमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यान्वयन नभए संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कडा कारवाही गर्ने चेतावनी दिएपनि नियमनकारी निकायले अनुगमन गर्ने तथा सोही अनुसार आफैले जारी गरेको लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउने काममा चुकेको कतिपयले विश्लेषण गर्न थालेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिन नदिनकालागि सरकारले ११ चैत २०७६ देखि लागु गरेको लकडाउन झण्डै ४ महिनामा अन्त्य गरिएको थियो । सरकारले लकडाउन अन्त्य गरेयता कोरोना भाईरस समुदाय स्तरमा फैलिईसकेपछि बिभिन्न स्थानीय तह हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देही यहि भदौ २ मा पुन जिल्लामा लकडाउन गर्यो । तर जिल्ला प्रशासन कार्यालयले गरेको लकडाउन कागजमा मात्रै सिमित भएको बुटवल उद्योग बाणिज्य संघका सचिव कमल पौडेल बताउनु हुन्छ । ‘लकडाउनको कुनै मतलव नै छैन, कागजमा मात्रै सिमित भयो ।’ उहाँ भन्नुहुन्छ–‘सवारी साधन चलाउने, पैदल हिँड्ने बढी भयो, सडक पेटी फूटपाथ तथा ठेलामा समेत व्यापार नगर्न भनिएको छ, नियमन गर्नेले त्यसको अनुगमन पनि गर्नुपर्ने होईन र ?’
लकडाउनको कडाईका साथ कार्यान्वयन नभएकै कारण बुटवलमा समुदाय स्तरमा संक्रमण फैलिएको कतिपयको बुझाई छ । अर्कोतिर प्रदेश सरकारले संक्रमण भेटिएमा त्यसलाई क्वीक रेस्पोन्स गर्ने र आवश्यक परेमा त्यो समुदायलाई नै सिल गर्ने सम्मको निर्णय गरेको छ । तर त्यो निर्णयको पनि कार्यान्वयन हुन नसकेको बुटवल ११ का स्थानीय सुरेश रेग्मी बताउनु हुन्छ । सरकारको सबै शक्ति कोरोना संक्रमण फैलिन नदिनकालागि केन्द्रित भएको भनिएपनि जिम्मेवार निकायमा बसेका व्यक्तिले जिम्मेवारी बोध नगरेको उहाँको भनाई छ ।
समुदायमा संक्रमण देखिएपछि सरकारी संयन्त्र खोज र नष्ट गर अभियानमा जुट्नुपर्ने हो । तर प्रदेश तथा स्थानीय सरकारले समयमै खोजी नगर्दा संक्रणम सरकारको ट्रयाक भन्दा बाहिर जाने पो हो की भन्ने आशंका उत्पन्न भएको छ ।
बुटवलको एक महिलाको किरिया गएका मलामी सबैलाई समयमै पिसिआर परिक्षण गरेको भए यति धेरै संक्रमण फैलिन सक्ने थिएन । उक्त केसमा हेलचेक्र्याई गरेकै कारण अहिले समुदायमा संक्रमण फैलिएको धेरैको विश्लेषण छ ।