रक्त सञ्चार सेवा केन्द्रमा ‘प्लाज्मा बैंक’ स्थापना

1.3K

रक्त सञ्चार सेवा केन्द्रमा ‘प्लाज्मा बैंक’ स्थापना

रक्त सञ्चार सेवा केन्द्र बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको छ । प्लाज्मा थेरापी बिधिबाट कोरोना संक्रमितको उपचारकालागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश पाँचको समन्वयमा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको हो ।
कोरोना संक्रमणबाट गम्भिर स्वास्थ्य समस्या भएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ्य व्यक्तिको रगत दिएर उपचार गर्नकालागि प्लाज्मा बैंक स्थापना गरिएको परिषदका संयोजक डा. प्रशान्त आचार्यले जानकारी गराउनु भएको छ ।
संक्रमित निको भएको १४ दिन पुगेपछि उसको रगतबाट आरबीसी, डब्लुबीसी र प्लेटलेट्स छुट्याई बाँकी रहेको रगतको अंश (प्लाज्मा) गम्भिर अवस्थाको संक्रमितलाई दिँदा निको भएकाले नेपालमा पनि यो विधि प्रयोगमा ल्याइएको उहाँले बताउनु भयो । उहाँका अनुसार प्लाज्माले भाइरसको संक्रमणलाई रोकेर निष्क्रिय पारी रोग प्रतिरोधी क्षमता बढाउने हुनाले प्लाज्मा थेरापीलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको छ ।
संक्रमण मुक्त व्यक्तिले दान गरेको रगत रक्त सञ्चार सेवा केन्द्रमा रहेको (प्लाज्मा बैंक)मा राखिने र बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका जटिल अवस्थाका संक्रमितलाई दिइने उहाँले बताउनु भयो ।
यो बिधि अहिले नेपालमा १५ वटा अस्पतालमा शुरु भएको छ । संक्रमणमुक्त व्यक्तिसँग सम्पर्क गरी उनीहरुले चाहेकै ठाउँमा रक्तदान गराई प्लाज्मा संकलन गर्ने परिषदले तयारी गरेको छ । भदौभित्र कम्तीमा ५० जना संक्रमणमुक्त व्यक्तिको प्लाज्मा संकलन गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी गराउनु भयो ।