नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेपा वीपि कोईरालाले लिएको नीति तथा आदर्श र सिद्धान्तलाई कहिल्यै पनि भूल्न नसकिने बताउनु भएको छ ।
पार्टीका संस्थापक नेता वीपि कोईरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बुधबार आयोजना गरेको ‘जननायक वीपि कोईरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली काँग्रेस र नेपालको राजनीतिक अवस्था’ विषयक भिडियो अन्तरसंवाद कार्यक्रममा बोल्दै सभापति देउवाले वीपिले लिएको नीति र सिद्धान्त नेपालको परिवेश अनुसारको भएकाले उहाँको नीति र सिद्धान्तलाई छोड्न नसकिने बताउनु भएको हो ।
२००७ सालमा नेपाली काँग्रेसले गरेको लोकतान्त्रिक आन्दोलनमा वीपिको योगदान अतुलनीय रहेको बताउँदै वीपिकै योगदान र दुरदर्शिताका कारण मुलुकमा बहुदलीय व्यबस्था स्थापना तथा संविधान सभाका माध्यमबाट संविधान बनाउने काम पुरा भएको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. सशांक कोइरालाले ‘ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने वीपिको फिलोशपी (दर्शन) प्रचार प्रसार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले वीपिले प्रजातन्त्रकालागि धेरै दुःख गरेको स्मरण गर्दै प्रजातन्त्रको लडाईमा लामो समयसम्म जेल नेल सहनु परेको बताउनु भयो ।
त्यस्तै गरी पूर्वउपप्रधान तथा पार्टी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वीपि काँग्रेसका लागि मात्रै नभएर सबैका लागि उदाहरणीय र प्ररणाको स्रोत भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले सरकारको समेत आलोचना गर्नुभयो । कोरोना महामारीका कारण बिदेशी भूमिका काम गर्न गएका युवाहरु वेरोजगार भई उद्धार चाहेपनि सरकारले उद्धार गर्न नचाहेको बताउनु भयो । ‘कोरोना महामारीका कारण मजदुरहरु ठूलो कष्टमा छन्, देश भित्रैका मजदुरले रोजगारी गुमाएका छन्, विदेश भूमिका काम गर्न गएका युवाहरु वेरोजगार भई उद्धार खोजिरहेका छन्, तर सरकारले उद्धार गर्न चाहँदैन ।’ उहाँले भन्नुभयो–‘स्वास्थ्य शिक्षा लगायतका विषयलाई संविधानमै मौलिक अधिकारको रुपमा निःशुल्क हुने व्यबस्था गरेपनि सरकारले त्यसलाई कार्यान्वयन गर्न सक्दैन ।’ उहाँले किसानको देश भनेर चिनिने नेपाल अहिले श्रमिकको देशको रुपमा चिनिन लागेको पनि औंल्याउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वीपि र काँग्रेस एक आपसमा पर्यावाची जस्तो भएको टिप्पणी गर्नुभयो । संविधान प्रदत्त अधिकारलाई प्रधानमन्त्रीले निस्तेज गर्न खोजेको औंल्याउँदै उहाँले स्वतन्त्र प्रेस, मानव अधिकार, नागरिक अधिकारमा संकुचन गर्न खोजीएको बताउँदै त्यसको बिरोध गर्नुभयो ।
सरकारले किसान, मजदुर, उद्योगी, व्यबसायी सबैलाई सताउने काम गरेको आरोप लगाउँदै मुलुकमा सरकार भएपनि नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गर्नुभयो । नेपाली काँग्रेसले सरकारलाई पटक पटक सुझाव सल्लाह दिँदै आएपनि त्यसको सुनुवाई समेत नगरेको पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले उल्लेख गर्नुभयो । नागरिकको स्वास्थ्यमाथि सरकार संवेदनशि नभएको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘नागरिकको अकाल मृत्युलाई रोक्न नसक्ने सरकारको कुनै औचित्य छैन ।’
काँग्रेस नेता तथा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भयो । मुलुक कोरोना भाईरसको महामारीमा भएका बेला पनि स्वास्थ्य उपकरण खरिद तथा पूर्वाधार निर्माणका काममा चरम भ्रष्टाचार भएको उहाँले औंल्याउनु भयो । ‘उद्योग धन्दा बन्द छ, किसानले मल पाउन सकेका छैनन्, नागरिकले रोजगारी गुमाउनु परेको छ, विदेशमा काममा गएका युवासमेत रोजगारी गुमाएर स्वेदश आउँन चाहिरहेका छन् ।’ उहाँले भन्नुभयो–‘तर महिनौं बित्यो कोरोना महामारीसंग जुध्ने सरकारको कुनै तयारी छैन, उद्योग धन्दा कसरी सञ्चालन गर्ने, रोजगारी कसरी बढाउने, विदेशमा काम बिहिन बनेर नेपाल आउन चाहेकालाई कसरी ल्याउने, अर्थतन्त्रलाई कसरी अंगाडी बढाउने भन्दा पनि सरकार भ्रष्टाचारमा लिप्त छ ।’
त्यस अवसरमा उद्योगपति तथा प्रतिनीधि सभा सदस्य बिनोद चौधरीले काँग्रेसका संस्थापक नेता वीपिलाई उदार अर्थनीतिको परिकल्पनाकारका रुपमा चित्रण गर्नुभयो । काँग्रेसले लिएको उदार अर्थनीतिकै कारण २०४८ सालयता आन्तरिक मात्रै नभएर मुलुकमा बाह्य लगानी समेत भित्रिएको स्मरण गर्नुभयो । अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार भएपनि मुलुकको अर्थतन्त्र नराम्रोसंग ओरालो लागेको उहाँले बताउनु भयो । ‘कुनै पार्टी बहुमत सहित सत्तामा पुग्दैमा मुलुकको अर्थतन्त्रमा सुधार हुने होइन, किसान मल नपाएर, युवा रोजगारी नपाएर, नागरिक स्वास्थ्योपचार नपाएर समस्यामा छन् ।’ उहाँले भन्नुभयो–‘दुई तिहाईको सरकार त छ तर अहिले बत्तिको मिटर, बैंकमा व्याजको मिटर, बन्द रहेको उद्योगको पनि करको मिटर मात्रै दौडिरहेको छ ।’
उहाँले अवको निर्वाचत निर्णायक निर्वाचन रहेको बताउँदै भाषण भन्दा पनि काम गर्ने समय आएको उल्लेख गर्नुभयो । उहाँले नागरिकको आकांक्षा सम्बोधन गर्न आवश्यक रहेको र लगानी, पूर्वाधार र रोजगारीको उपयुक्त वातावरण बनाउने कुरामा केन्द्रित हुन नेतृत्वलाई समेत आग्रह गर्नुभयो । उहाँले सबैको आशा र भरोसाको पार्टी बनाउन सक्ने हो भने मात्रै वीपि प्रति सच्चा सम्मान हुने पनि बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, क्षेत्रीय सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतका नेताहरुले वीपिको नेतृत्वमा २००७ सालमा भएको आन्दोलनले प्रजातान्त्रिक मुलुकको रुपमा विश्वमा नेपाललाई चिनाएको बताउनु भएको थियो । उहाँहरुले वीपिले लिएको नीति सिद्धान्त र आजको परिवेशको मल्यांकन गर्नुपर्ने र पार्टीका नेताहरुमा भावनात्मक एकता हुन सकेन भने मुलुकको लोकतान्त्रिक पद्धती पनि समाप्त हुने भएकाले कमजोरी केलाउन र गल्ती सच्याउन आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खाँण तथा जुम एप्सको होस्ट नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले गर्नुभएको थियो ।