बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले अस्पतालमा भर्ना भएका बिरामीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अन्यत्र लैजना बिरामीका आफन्तलाई दवाव दिएको छ । ज्वरो तथा स्वासप्रस्वासमा समस्या भएपछि बुधबार राती लुम्बिनी प्रादेशिक अस्पतालमा आई भर्ना भएका बिरामीको स्वाव परिक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालले ठाउँ अभाव भएको बताउँदै अन्यत्र लैजानकालागि दवाव दिएको बिरामीका आफन्तले बताएका छन् ।
अत्यधिक ज्वरो आएपछि स्थानीय मेडिकलमा उपचार गर्दा टाईफाईड भएको भनी औषधी खाँदै आएको र स्वास्थ्यमा सुधार नभएपछि बुर्तिबाङ्का पुरुष बुधबार राती बुटवल आई सुरुमा करिव राती ११ बजेतिर मेडिटेक अस्पतालमा जानु भएको थियो । अस्पतालले एक्स–रे गरेपछि कोरोना भाईरस संक्रमण भएको हुन सक्ने आशंका सहित सरकारी अस्पतालमा लैजान सुझाव दियो, तर बिरामीका आफन्तले क्रिमसन अस्पताल पु¥याए । क्रिमसनले पनि भर्ना लिन नमानेपछि करिव १ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर भर्ना गरि एक्स–रे रिपोर्ट हेर्यो, छातीमा खरावी भएको र निमोनिया भएको हुनसक्ने भन्दै उपचार अंगाडी बढाईयो भने स्वाब समेत परिक्षण गरियो ।
बिरामीका सहयोगी बुटवलका ईन्द्रबहादुर थापाले भन्नुभयो–‘म घर आएँ, बिहान रिपोर्ट पोजेटिभ आएछ, त्यसपछि बिरामी राख्ने ठाउँ नभएको भन्दै एम्बुलेन्स खोज्न भनिएछ ।’ उहाँका अनुसार सुरुमा धागो कारखाना स्थित कोरोना अस्थायी अस्पताल वा भैरहवा स्थित भिम अस्पतालमा लैजाने कुरा थियो तर पछि चितवन तिर लैजानुस भनेपछि बिरामीका आफन्तलाई अन्यौल भयो । ‘पिसीआर रिपोर्ट नेगेटिभ भएको भए विकल्प खोज्न सकिन्थ्यो ।’ उहाँले भन्नुभयो–‘कि हामी सक्दैनौं, बिरामी लैजा भन्नुपर्यो, होईन भने अस्पताले व्यबस्थापन गर्नुपर्यो ।’
यस बिषयमा जिज्ञाशा राख्दा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बिरामीलाई आईसीयुमा राख्नुपर्ने र आईसीयु खाली नभएकाले बाहिर पठाउनु परेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार धागो कारखानामा निर्माण गरिएको कोरोना बिशेष अस्थायी अस्पतालमा रहेका १७ वटा आईसीयुका वेड भरिएको छ । खाली छैन ।
‘अस्पतालको क्षमता जति छ त्यति सेवा हामीले गर्ने हो, त्यो भन्दा बढीको व्यबस्थापन सरकारले गर्नुपर्छ ।’ मेसु खनालले भन्नुभयो–‘हाम्रो तहबाट हुने हामीले गरेकै छौं, संक्रमण पुष्टि भएका बिरामी राख्ने ठाउँ नभएपछि त्यो भन्दा बढी आएका बिरामीलाई व्यबस्थापन गर्ने माथिल्लो तहबाट हो, माथिल्लो तहबाट खासै समन्वय नै भएन, यसको अपजस पनि सबै हामी माथि नै आईरहेको छ ।’