‘फ्रिजमा रगत छ, आवश्यक समुहको नहुन सक्छ’ : केन्द्र बाहिर पनि संकलन गर्न जाने रेडक्रसको तयारी

‘फ्रिजमा रगत छ, आवश्यक समुहको नहुन सक्छ’ : केन्द्र बाहिर पनि संकलन गर्न जाने रेडक्रसको तयारी

कबिन्द्र नेपाल /

फ्रिज भरी रगत हुन्छ, तर कहिलेकाँही बिरामीले मागेको रगत उपलब्ध गराउन सकिँदैन । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता रक्त सञ्चार सेवा केन्द्र बुटवलले आवश्यकता अनुसार रक्त संकलन समेत गर्न सकेको छैन । जसका कारण वेलावेलामा बिरामीलाई आवश्यकता अनुसारको रगत उपलब्ध गराउन समस्या पर्ने गरेको छ ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा नियमित रुपमा रक्तदान कार्यक्रम भईरहेपनि बिरामीलाई आवश्यक पर्ने समुहको रगत संकलन नभएका कारण बेला बेलामा निश्चित समुहको रगत सटेज हुने गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलका ल्याव ईञ्चार्ज जोगबहादुर गुरुङ् बताउनु हुन्छ । ‘यसका वाबजुध पनि बिरामीलाई रगतको अभाव त भएको छैन ।’ उहाँले भन्नुभयो–‘तर बिरामीका आफन्तले हैरानी व्यहोर्नु परेको हुनसक्छ ।’
लकडाउन अगावै वातावरण सहज हुँदा केन्द्रले आसपासका बिभिन्न स्थानमा पुगेर रगत संकलन गर्ने गरेको थियो । यस्तो समयमा नियमित रुपमा प्रयाप्त मात्रामा रगत संक्रन हुने भएकाले सबै समुहका रगत केन्द्रमा प्रयाप्त हुन्थ्यो । बिरामीलाई पनि सहजै उपलब्ध गराउन सकिन्थ्यो । तर अहिले वातावरण असहज भएकै कारण रक्त सञ्चार सेवा केन्द्रले बाहिर गएर रगत संकलन गर्न सकेको छैन । जसका कारण रगतको अभाव नभए पनि आवश्यकता भएको समुहको रगत संकलनमा आफन्तले हैरानी व्यहोर्नु परेको हो ।
अहिले रक्त सञ्चार सेवा केन्द्रमा नियमित जसो रक्तदान कार्यक्रम भईरहेका छन् । तर आयोजकले गरेको लक्ष्य अनुसार तार्गेट मिट नहुने, टाढाबाट रक्तदान गर्नका लागि आउने संघसंस्थाका रक्तदाता ल्याउन समस्या हुने जस्ता कारणले तुलनात्मक रुपमा रगतको संकलन पनि कम छ । ‘यसले कुनै समुहको रगत बढी हुन सक्छ, कुनै समुहको कम हुन सक्छ ।’ ल्याव ईञ्चार्ज गुरुङ् भन्नुहुन्छ–‘कम संकलन भएको समुहको रगतको माग बढीभयो भने सटेज हुनु स्वभाविकै हो ।’
रगतको सटेज भएपनि जसरी हुन्छ बिरामीलाई उपलब्ध गराउने काममा रक्त सञ्चार सेवा केन्द्र तथा बिभिन्न रक्तदाता संस्थाहरु क्रियाशिल भएकाले पनि केही सहज भएको छ । कुनै समुहको रगत अभाव भयो भने संघसंस्थासंग समन्वय गरेर या बिरामीका आफन्त नै रक्तदानका लागि तयारी हुने र तत्कालै व्यबस्थापन गर्ने गरिएको उहाँले बताउनु भयो । ‘सम्बन्धित समुहको रक्तदाता खोज्नकालागि बिरामीका आफन्तलाई केही हैरानी हुनसक्छ तर रगत नपाएर बिरामीको उपचार गर्न पाईएन भनेको सुन्नु परेको छैन’ – उहाँले भन्नुभयो ।
बिरामीलाई रगत व्यबस्थापनमा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । समाजले नियमित रुपमा रक्तदान गर्ने, वातावरण सहज हुँदा होस या नहुँदा पनि समाजले रक्त सञ्चार सेवा केन्द्रमा मौज्दात नभएका तर माग भईआएका रगतको व्यबस्थापनका लागि बिरामीका आफन्तलाई रक्तदान गर्न अभिप्रेरित गर्ने तथा रक्तदाताको रेकर्ड हेरेर सम्बन्धित समुहका रक्तदातालाई रक्तदान गराउने काम गर्दै आएको समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताउनु भयो ।
नियमित रक्तदान गर्ने (जसले वर्षमा ४ पटक रक्तदान गर्छन्) व्यक्तिहरु बुटवलमा मात्रै ५ सय भन्दा बढी छन् । त्यस्तै दुर्लभ रक्त समुह (ए नेगेटिभ, बि नेगेटिभ, ओ नेगेटिभ र एबि नेगेटिभ) का करिव ३ सय जना छन् । उनीहरुलाई भने स्ट्याण्डबाई राख्ने गरिएको छ । रगतको स्टोरेज ३५ दिन मात्रै रहेकाले उनीहरुलाई स्ट्याण्डबाई राख्ने गरिएको हो ।
अहिले लकडाउन केही खुकुलो भएको छ । नियमित रुपमा रक्तदान गर्दै आएका व्यक्तिहरुको समयपनि लामो भईसक्यो । उनीहरुले रक्तदान गर्न चाहन्छन् तर अवसर पाएका छैनन् । एकातिर रक्तदान गर्न चाहनेहरुले गर्न नपाउने अर्कोतिर सटेज भएर बिरामीका आफन्तले हैरानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाले केही सहज भएको वातावरणलाई अवसरको रुपमा लिएर केन्द्र बाहिर पनि रगत संकलन गर्ने काम सुरु गर्ने तयारी गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले केन्द्रमा रगतको मौज्दात बढाउनकालागि अव केन्द्र बाहिर पनि रगत संकलन गरिने बताउनु भयो । केन्द्रमा रगतको मौज्दात प्रयाप्त गराउन सकियो भने कुनै पनि समुहको रगतको सटेज हुँदैन । यसका लागि नियमित रुपमा रक्तदान गर्ने व्यक्तिहरुलाई रक्तदान गर्ने वातावरण उपलब्ध गराउनु पर्ने हुन्छ ।
उहाँले अहिले लकडाउन पनि खुकुलो भएको र यसलाई अवसरका रुपमा लिएर पहिले जस्तैगरी केन्द्र बाहिर पनि जाने तयारी भएको जानकारी गराउनु भयो । नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले बुटवल र भैरहवामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेको छ । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेयता ती रक्त सञ्चार सेवा केन्द्रले केन्द्र बाहिर रगत संकलन गर्ने काम बन्द गरेका थिए ।

स्वयमसेवी रक्तदाता समाजको ९० औं श्रीङ्खला

नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले शनिबार नियमित रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा गरिएको ९० औं श्रीङ्खलामा ८० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक आकाश पन्थले जानकारी गराउनु भयो । उक्त संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम गर्दै आएको छ ।
एक्सपर्ट एजुकेशनको सहयोगमा गरिएको कार्यक्रममा बोल्दै सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका प्रमुख डा. राजेन्द्र बस्यालले समाजले मानवता र व्यक्तिको जीवन रक्षा गर्ने काम गरेकाले संस्थाको आजिवन सदस्य बन्ने बताउनु भयो । समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिष्म केसी, महासचिव उदय भट्टराई, लगायतले भनाई राख्नुभएको थियो ।

Share This
  • 173
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    173
    Shares