‘डा. गोबिन्द केसी व्यक्ति होईन, आवाज हो’

644

‘डा. गोबिन्द केसी व्यक्ति होईन, आवाज हो’

चिकित्सा शिक्षा सुधारको माग सहित अनसनरत डा. गोबिन्द्र केसीको अभियानमा ऐक्यवद्धता व्यक्त गर्दै उच्च अदालत बार एशोसिएशन बुटवलले डा. केसीले उठान गरेका जायज माग सम्बोधन गरी जीवन रक्षाको माग गरेको छ ।
उच्च अदालत बार एशोसिएशन बुटवलले शुक्रबार बुटवलको जेसीजचोकमा डा. केसीको समर्थनमा ऐक्यवद्धता सहित प्रदर्शन समेत गरेको छ । प्रदर्शनका सहभागि कानुन व्यबसायिहरुले डा. गोबिन्द केसी व्यक्ति होईन आवाज हो, डा. गोबिन्द केसीका जायज माग पुरा गर लगायतका प्ले कार्ड बोकेका थिए ।
डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग सहित १९ औं पटक अनसन बस्दै हुनुहुन्छ । गत भदौ २९ देखि सुरु भएको पछिल्लो १९ औं पटकको अनसन शुक्रबार २६ औं दिन पुगेको छ ।
२६ औं दिनसम्म अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भएपनि सरकारले माग सम्बोधनमा कुनै तदारुत्ता देखाएको छैन । सत्याग्रही डा. केसीले उठान गरेका मागहरु व्यक्ति हित स्वार्थको लागि नभई आम नेपाली नागरिकका लागि भएकाले सरकारको तर्फबाट तत्काल सम्बोधन हुनु पर्ने उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले बताउनु भयो ।
गणतान्त्रिक संविधानको मर्म र भावना अनुरुप समाजवादी राज्य व्यबस्था कार्यान्वयनको लागि प्रस्थान बिन्दु समेत रहेको तथा संबिधान र कानुनको परिधि भित्र रहेर अहिंसात्मक सत्याग्रह (भोक हड्ताल) माध्यमबाट डा. केसीसंग पटक पटक भएका सम्झौताहरु पुरा गर्ने सरकारको दायित्व भएको उच्च अदालत बार एशोसिएशन बुटवल अध्यक्ष केसी र सचिव गोबिन्द्रप्रसाद मरासिनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।