जन्मदिनको अवसरमा मृगौला पिडितलाई सहयोग

जन्मदिनको अवसरमा मृगौला पिडितलाई सहयोग

बिद्यार्थी नेता प्रदिप घर्तीले आफ्नो जन्मदिनको अवसर पारेर मृगौला पिडित ३० वर्षीय लालबहादुर बिकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । बिद्यार्थी नेता घर्तीले आफ्नो जन्मदिनको अवसरमा गुल्मीको चन्द्रकोट ७ रुपाकोट घर भई हाल बुटवल देवीनगरमा बस्दै आएका दुबै मृगौला फेल भएका बिकलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।
दुबै मृगौला फेल भएका बिक विगत तीन वर्षदेखि सिद्धार्थनगर सिटि अस्पताल बुटवलमा डाईलाईसिस गराउँदै आउनु भएको छ । परिवारको मुली नै बिरामी भएपछि श्रीमती र एक छोरीको जीबिकोपार्जन नै कठिन बनेको मृगौला पिडित बिकले बताउनु भयो । बिकको उपचारमा नजिकबाट सहयोग गर्दै आएका पाल्पाको तानसेन नगरपालिका वडा नं. १० का खुमबहादुर कार्कीले सहयोगी हातहरुलाई सहयोगको लागि आग्रह गर्दै आउनु भएको छ ।
नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका नेता घर्तीको जन्मदिनको अवसरमा आयोजना गरिएको खाद्यान्न सहयोग कार्यक्रममा नेबिसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रकाश राना, नेपाली काँग्रेसका युवा नेता बिष्णु पोखरेल, नेपाल मगर बिद्यार्थी संघका पूर्व केन्द्रीय सचिव तेजु राना, केन्द्रीय सदस्य मनिस फाल मगर, शिवराज पोखरेल लगायत सहभागी थिए ।
त्यस अवसरमा नेबिसंघका पूर्व केन्द्रीय अध्यक्ष रानाले बिकको परिवार बस्दै आएको घरको ६ महिनाको घरभाडा व्यहोर्ने र छोरीलाई निशुल्क पढाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै काँग्रेसका युवा नेता पोखरेलले पनि सक्दो सहयोग पर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगका लागि सबैसंग अपिल गर्नुभयो ।
नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका इकाई सचिव घर्तीले आफूले भड्कीलो भन्दा पनि सानो भएपनि दुःखीहरुको सेवामा जन्मदिनलाई अवसरको रुपमा लिएको बताउँदै आफूले गरेको सहयोग प्रयाप्त नभएपनि सहयोगी हातहरुको लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण बिष्णु खनालले गर्नुभएको थियो ।

Share This
  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares