सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन : काँग्रेस

567

सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन : काँग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै महामारीबाट जनतालाई जोगाउने विशेष संवेदनशिलताको लागि सरकारसंग अपिल गरेको छ । सरकारले गरेको पीसीआर परिक्षण तथा कोरोना संक्रमितको उपचार आफै गर्नुपर्ने निर्णयले सरकार छ भन्ने बचेखुचेको भ्रम समेत अन्त्य गरिदिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यबस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ले औंल्याउनु भएको हो । विज्ञप्तीमा भनिएको छ–‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
विज्ञप्तीमा सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि कुरा नसुन्ने सरकार कसको कुरा सुन्छ ? भन्ने प्रश्न उब्जीएको उल्लेख गरिएको छ ।
कोरोना भाईरस परिक्षण तथा उपचारको दायित्व स्वयम व्यक्तिको हुनेगरी सरकारले निर्णय गरेपछि त्यसको सर्वत्र बिरोध भईरहँदा नेपाली काँग्रेसले सरकारलाई जिम्मेवारी बोध गराएको हो । सरकारको उक्त निर्णय अत्यन्तै गैह्रजिम्मेवार व्यबहार भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।