बुधबारका लागि तोकिएको सत्तारुढ नेकपा सचिवालय बैठकलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले मंगलबार राति अबेर बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पाँच दिनअघि बसेको सचिवालय बैठकले पनि सोही समयमा बैठक निधो गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राति पौने १० बजे मन्त्रिपरिषद् बैठक तय भएको हो । ‘हामी बिदामा थियौं,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले भने, ‘साढे ९ बजे सबै मन्त्रीहरुलाई जानकारी दिनु भनेर खबर गर्न भनियो ।’ प्रायजसोः साँझ हुँदै आएको मन्त्रिपरिषद् बैठक बुधबार भने दिउँसो १ बजे नै बोलाइएको छ ।
नेकपा सचिवालय बैठक सार्न अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रस्तावमा दाहाल सहमत नभएपछि सोही समयमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित सचिवालय सदस्यहरु महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा मन्त्री छन् ।
बैठक रोक्न भन्दै ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल मंगलबार दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए । तर, दाहालले अस्वीकार गरे । दाहालले पौडेलसँग मात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बैठक नरोक्ने जनाउ दिइसकेका छन् ।
दाहालसहित सचिवालयका पाँच नेताको मागमा चार दिनअघि बसेको बैठक ‘तनावपूर्ण’ भएपछि ३ मंसिरसम्म स्थगित भएको थियो । गएको बैठकमा दुई अध्यक्षबीच आदानप्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । नेताहरुलाई उपलब्ध गराएको पत्र सार्वजनिक सञ्चारमाध्यममा हुबहु प्रकाशित भइसकेका छन् ।
दुई नेताबीचको पत्रभन्दा पनि दाहालको प्रस्तावमा ओलीको गहिरो चित्त दुखाइ छ । दाहालको प्रस्तावमा आफूमाथि निराधार आरोप लगाएको भन्दै उनी क्रुद्दमात्रै भएका छैनन्, प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश दूतहरुमार्फत पठाइसकेका छन् ।