लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वाबको स्याम्पल कलेक्सन बुथ सहयोग

866

लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वाबको स्याम्पल कलेक्सन बुथ सहयोग

नोवेल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनको लागि ‘युथ फर नेशन’ नामक सामाजिक संस्थाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वाबको स्वाम्पल कलेक्सन गर्न बुथ प्रदान गरेको छ ।
युथ फर नेशनले उक्त स्याम्पल कलेक्सन बुथ मंगलबार एक कार्यक्रमका बिच अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाललाई हस्तान्तरण गरेको हो । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट फ्रण्ट लाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नको लागि स्वाब (स्याम्पल) कलेक्सन बुथ प्रभावकारी हुने विश्वास गरिएको छ ।
स्याम्पल बुथको साँचो ग्रहण गर्दैै अस्पताल बिकास समितिका अध्यक्ष भट्टराईले ढिलै भएपनि स्वाब कलेक्सनको बुथ प्राप्त भएकोले फ्रण्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षित तवरले काम गर्ने वातावरण बनेको बताउनु भयो । उहाँले सहयोग गर्ने संस्थालाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।


त्यस्तै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. खनालले स्याम्पल बुथबाट काम सुरु गरेपछि केही हदसम्म भएपनि जोखिम कम गराउने बताउँदै यसलाई व्यबस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बिभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा अस्पताललाई स्याम्पल कलेक्सन बुथ सहयोग गरिएको बताउँदै युथ फर नेशनका अध्यक्ष डा. कमल भुसालले फ्रण्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित रहन सकेमात्रै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकिने भएकाले त्यसैलाई ध्यान दिएर अस्पतालमा स्याम्पल कलेक्नस बुथ प्रदान गरिएको जानकारी गराउनु भयो ।
संस्था स्थापनाको करिव तीन वर्ष यता युथ फर नेशनले शिक्षा, स्वास्थ्य, वाताबरण, दैवीप्रकोप, पर्यटन र कृषिको क्षेत्रमा काम गर्दै आएको संस्थाका महासचिव अनिल रिजालले जानकारी गराउनु भयो । उहाँका अनुसार शिक्षामा बिज्ञान अभियान, डिजिटल एजुकेशनको लागि ई–लाईव्रेरी, टिचर्स ट्रेनिङ, अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरेको छ भने स्वास्थ्यमा दुर्गम क्षेत्र लक्षित निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्य शिक्षा, रोगको बारेमा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


कोरोना भाईरस (कोभिड–१९)को महामारी संगै काडमाण्डौको बिर अस्पताल र चितवनको कोरोना अस्पताललाई समेत स्वाब स्याम्पल कलेक्सन बुथ प्रदान गरिसकिएको संस्थाका लुम्बिनी प्रदेश संयोजक राजु टण्डनले जानकारी गराउनु भयो । उहाँले अस्पताललाई आवश्यक पर्ने र आफूहरुबाट हुन सक्ने सहयोग आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।