नेकपालाई सरकारमा बसिरहने नैतिकता छैन : भ्रष्टाचार भएको पुष्टि गर्न काँग्रेसलाई चुनौती

1.3K

नेकपालाई सरकारमा बसिरहने नैतिकता छैन : भ्रष्टाचार भएको पुष्टि गर्न काँग्रेसलाई चुनौती

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सत्तामा बसिरहने नैतिक अधिकार नभएको आरोप लागेको छ । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनोडियाले सरकारले सुशासन कायम गर्न नसकेको, भ्रष्टाचार बढेको तथा भ्रष्टाचार गर्नेलाई प्रसय दिएको, सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त भएको र यस्ता गतिबिधिलाई रोक्ने प्रयास सम्म नगरेकाले नेकपाले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताउनु भएको हो ।
रिपोटर्स क्लव लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा काँग्रेस संसदीय दलका नेता कनोडियाले नेकपालाई नैतिकताको आधारमा सत्ता छोड्न भनिरहँदा नेपाली काँग्रेसलाई सत्ताको हतारो भने नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘तर काँग्रेसलाई सरकारमा जान हतारो होईन, हामीलाई जनताले नै प्रतिपक्षको भूमिकामा सिमित गरेकोले काँग्रेस ५ वर्षको लागि प्रतिपक्ष नै हो ।’
उहाँले संघीय सरकार सहित प्रदेशमा समेत चरम भ्रष्टाचार बढेकाले संघीय तथा प्रदेशमा समेत नेकपालाई सरकारमा रहिरहने नैतिक अधिकार नभएको बताउनु भएको हो । उहाँले परिवर्तित व्यबस्था अनुसार सरकारले राम्रोसंग डेलीभरी गर्न नसकेकै कारण जनतामा निराशा छाएको र अर्को शक्ति (राजावादीहरु) सलवलाउन थालेको समेत टिप्पणी गर्नुभयो । उहाँले प्रतिपक्षिले मात्रै नभएर सत्तारुढ दलबाटै यी कुरा उठेको बताउँदै सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरको आरोप समेत लगाउनु भयो । प्रमुख प्रतिपक्षि दलले पनि यी कुरा राम्रोसंग उठान गर्न नसकेको हो की भन्ने प्रश्नमा उहाँले भन्नुभयो–‘प्रतिपक्षको भूमिकामा हामी चुकेका छैनौं, मर्यादित रुपमा आवाज उठाईरहेका छौं ।’
प्रदेश सभाको हिउँदे अधिवेशन स्थायी राजधानी भालुवाङमा अस्थायी पूर्वाधारमा गर्ने तयारी भएको सुनिएको बताउँदै उहाँले त्यसो हो भने त्यो राम्रो नहुने बताउनु भयो । ‘अस्थायीबाट सारेर अस्थायीमै लाने कुरा बुद्धिमता र विवेकपूर्ण निर्णय हुन सक्दैन ।’ उहाँले भन्नुभयो–फेरी अस्थायीकै लागि करोडौं रुपैंया खर्च गर्ने काम सरकारले नगरोस् ।’
त्यसको जवाफमा नेकपा लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले काँग्रेस नेता कनोडियाले लगाएको आरोपको खण्डन गर्दै भ्रष्टाचार भयो भन्ने आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । ‘संघीय संसदमा काँग्रेसकै नेता लेखा समितिको सभापति हुनुहुन्छ, प्रदेश सभामा पनि काँग्रेसकै नेता लेखा समितिको सभापति हुनुहुन्छ, उहाँहरु के हेरेर बस्नु भएको छ ?’ उहाँले भन्नुभयो–‘म चुनौतिका साथ भन्छु, भ्रष्टाचार भएको छ भने लेखा समिति मार्फत छानविन गरेर बाहिर ल्याउनुहोस् ।’
प्रदेशको स्थायी राजधानी भालुवाङ तोकिएपछि त्यस क्षेत्रमा सांसदहरु नै फिता लिएर जग्गाको कारोवारमा लागेको भन्ने आरोपको समेत उहाँले खण्डन गर्नुभयो । उहाँले भन्नुभयो–‘ममाथि पनि यो आरोप लागेको छ, यो आरोप १० वर्षसम्म मसंग जोडिएर मात्रै भएपनि प्रमाणित हुन्छ भने राजनीतिबाट सन्यास लिन्छु ।’ उहाँले प्रदेशको स्थायी राजधानी व्यबस्थित रुपमा बनाउनको लागि तयारी अंगाडी बढाएको बताउँदै ग्लोवल टेण्डर मार्फत डिपिआरको तयारी भईरहेको उल्लेख गर्नुभयो । उहाँले हिउँदे अधिवेशन दाङमा गर्ने सम्भावना नभएको र यो बेकारको हल्ला मात्रै भएको दावी गर्नुभयो ।