नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिले यहि पुसको २५ गतेलाई प्रदेश अधिवेशनको मिति तय गरेको छ । सोही अनुसार आकांक्षीहरु चुनावको प्रचारप्रसारमा जुटेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश अध्यक्षका रुपमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई प्रस्तुत गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्षका प्रत्यासी श्रेष्ठसंग चुनावको तयारी र भावी रणनीतिका बारेमा गरिएको कुराकानी ।
तपाईको चुनावी तयारी कसरी गर्नुभएको छ ?
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षको रुपमा बुटवल उद्योग बाणिज्य संघले मलाई अंगाडी सार्यो र प्रदेश समितिले पनि निर्वाचनको मिति तय गरेपछि हामी चुनाव प्रचार प्रसारकै अभियानमा छौं । मेरो व्यक्तिगत तर्फबाट, संस्थाको तर्फबाट र साथिभाईहरु समेतले पनि एक हिसावले हामी निर्वाचनको लागि गर्नुपर्ने तयारी गरिरहेका छौं । हामीले पश्चिमका जिल्ला भ्रमण गरेर आयौं, यसले हामीलाई उत्साही बनाएको छ । ती जिल्लामा पुग्दा त्यहाका प्रतिनीधिहरुले हामीप्रति देखाएको सद्भावले जीत सुनिश्चित भएको आभास पनि भएको छ र नेपाल उद्योग बाणिज्य महासंघको प्रदेशको अध्यक्षमा अत्यधिक मत सहित बिजयी हुनेछु भन्नेमा विश्वस्त भएको छ ।
तपाईका भावी रणनीति तथा योजनाहरु के छन् ?
विशेषतः मुलुकको पुनसंरचना संगै तीन तहको सरकार बनेपछि यो फेडरल सिस्टम अनुसार नेपाल उद्योग बाणिज्य महासंघ पनि तीन तहमा हुने व्यबस्था बनाईयो । छिटो हतारमा गर्दा यसमा केही कमिकमजोरी पनि भएका छन् । थुप्रै कुराहरु सुधार गर्नुपर्ने छ, त्यसको योजना तयार पारिएको छ । यसमा मेरो व्यक्तिगत रुपमा पनि भिजन छ । बुटवल उद्योग बाणिज्य संघको नेतृत्व लिँदाखेरी मैले जे आर्जन गरे मेरा अग्रहहरुबाट र नेपाल उद्योग बाणिज्य महासंघको सदस्य भईसकेपछि पनि जती अनुभव गरे, ती सबै अनुभवहरुलाई समेटेर भावी योजना तयार गर्नेछु । मेरो योजना अनुसार लक्षमा पुग्नको लागि सम्बन्धित प्रदेशका उद्योग बाणिज्य संघ सबैलाई राखेर कार्यदिशा तयार गर्नेछु । यसपालि प्रदेश समितिको कार्यकाल दुई वर्षको हुनेछ । कोभिड १९ महामारीको कारण १ वर्ष गईसक्यो । यो दुई वर्षमा गर्ने कृयाकलापहरु निर्वाचित भएको दिनदेखि नै साथीहरुसंग बसेर छलफल गरेर निर्धारण गरिने छ । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको भिजनसंग टाईअप हुनेगरी मैले आफ्नो रणनीति तयार गर्नेछु । जिल्ला नगरका उद्योग बाणिज्य संघका समस्या के छन् ?, समस्याको समाधानमा के गर्न सकिन्छ ?, उद्यमशिलताको बिकासमा मेरो पुरै ध्यान केन्द्रित हुनेछ । योजनावद्ध तरिकाले नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिलाई ससक्त बनाउने छु ।
सुधार गर्नुपर्ने कुराहरु के के हुन् ?
पहिलो त बिधानतः नै सुधार गर्नुपर्ने छ । नेपाल उद्योग बाणिज्य महासंघले विधान संयोजक सम्भवत तोकिसकेको होला । उहाँसंग बसेर प्रदेश उद्योग बाणिज्य महासंघलाई स्वायत्त बनाउने र बलियो बनाउने गरी विधान ल्याउनु पर्नेछ । अहिले जिल्ला नगरमा मात्रै उद्योग बाणिज्य संघ छ । हाम्रो यो लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन्, जिल्ला र नगरमा सिमित उद्योग बाणिज्य संघलाई गाउँपालिकामा पनि पु¥याउनु पर्नेछ । बिधान सुधार गरेर जिल्ला नगरमा सिमित उद्योग बाणिज्य संघलाई गाउँपालिकामा पनि बिस्तार गरिने छ । गाउँपालिकामा पनि उद्योग व्यापार व्यबसाय र उद्यमशिलताको बिकास नवउद्यमीलाई प्रवद्र्धन गर्ने लक्षका साथ हामी अंगाडी बढेका छौं ।