राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगतम बिरुद्धको लडाईका लागि कार्यगत एकता अपरिहार्य रहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अधिनायकवादी कदमको बिरुद्ध संघर्षको लागि कार्यगत एकतामा जोड दिनुभएको हो । उहाँले त्यसको लागि संसद विघटन गर्ने दम गलत हो भन्ने पक्षहरुका बिचमा कार्यगत एकता हुन जरुरी रहेको पनि बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले बिहिबार बुटवलमा आयोजना गरेको ‘प्रतिनीधि सभा विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले संसद विघटनले मुलुकलाई अध्यारोतर्फ धकेलेको र संयुक्त शक्तिशाली आन्दोलनको बलबाट नै विघटित प्रतिनीधि सभा पुनःस्थापित गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
राजावादी शक्ति, विदेशी हिन्दु अतिवादी शक्ति र वामपन्थी संकिर्णवादी शक्तिबाट अहिले गणतन्त्रमाथी हमला भएको बताउँदै संकिर्ण वामपन्थी संकिर्णवादी शक्तिको हमलाबाट अन्ततः राजावादीहरुलाई नै मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले स्थिर सरकार कायम राख्न, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न तथा प्रतिगमनकारी शक्तिको कदमलाई परास्त गर्न अग्रगमनका पक्षधर शक्तिहरुका बिच कार्यगत एकता गरि संयुक्त आन्दोलनलाई अंगाडी बढाउनु पर्ने भनाई राख्नुभएको हो ।