बुटवल, मंसिर २०/गृहमन्त्री शक्ति बहादुर बस्नेतले आम सर्वसाधारणले अनुमान गरेजस्तो तराईका जिल्लाहरुको अवस्था भयावह नभएको बताएका छन् ।मधेशी दलहरुले विगत साढे तिन महिनादेखि तराईमा गर्दै आएको आन्दोलनका कारण चाडपर्व पछिको अवस्था भयावह हुनसक्ने सबैले अनुमान गरेपनि अहिले त्यस्तो अवस्था भने नभएको बताए ।बुटवलमा यसक्षेत्रका सुरक्षा प्रमुखहरुसंग आईतवार भएको बैठकपछि सुरक्षा अवस्थाबारे पत्रकारहरुलाई जानकारी गराउंदै गृहमन्त्री बस्नेतले आन्दोलनका कारण तराईक्षेत्रको अवस्था केहि असहज रहेपनि नियन्त्रण भन्दा बाहिर भने नगएको बताए ।उनले भने ‘दशैं, तिहार, छठ जस्ता चाडपर्व पछि अली असहज परिस्थिति हुन्छ कि भन्ने सबैले अनुमान गरेका थिए। तर सबैले अनुमान गरेजस्तो अवस्था छैन यद्यपि केही असहज परिस्थिति छ। आपूर्तिमा केही असहजता छ, शान्ति सुरक्षामा केही असहजता छ तर नियन्त्रण भन्दा बाहिर भने गएको छैन।’गृहमन्त्री बस्नेतले जनताको दैनिक जनजिवन अस्तव्यस्त नहोस् र देशको असहज परिस्थीतीमा कालोबजारी र तस्करी मार्फत कसैले अनुचित लाभ लिन नपाओस् भन्ने तर्फ सरकार सचेत रहेको दावी गरे ।गृहमन्त्रालयको आगामी सुरक्षा योजना निर्माणको लागि गृहमन्त्री सहित पश्चिमाञ्चल र मध्यमाञ्चलका आठवटा सुरक्षा निकायका प्रमुखहरुको बैठक बुटवलमा सम्पन्न भएको छ।आइतबार बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म बसेको उक्त बैठकमा गृहमन्त्री शक्ति बहादुर बस्नेत र गृहसचिव सूर्य सिलवाल सहित पश्चिामाञ्चल र मध्यमाञ्चलका क्षेत्रिय प्रशासन प्रमुखहरू, अञ्चल प्रहरी प्रमुखहरु, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागी थिए।बैठकमा पछिल्लो समयमा तराईमा जारी मधेशी दलहरुको आन्दोलन, नाकाबन्दीका कारण उत्पन्न परिस्थिति, आपूर्ति व्यवस्थापन, शान्ति सुरक्षा तथा विकास निर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ।आगामी बुधवार पोखरा र त्यसपछि नेपालगञ्ज र सुदुरपश्चिममा हुने सुरक्षा बैठकपछि उठेका विषयवस्तुहरुको आधारमा मन्त्रालयको आगामी कार्ययोजना बनाउन सजिलो हुने गृहमन्त्री बस्नेतले बताए ।