शान्ति नमुनाले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाउँदै

638

शान्ति नमुनाले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाउँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरी ६२ औं वार्षिक उत्सव तथा अभिावक दिवस मनाउने भएको छ ।
त्यसै अनुसार विद्यालयले माघ २९ गते जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न लागेको बुधबार बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जानकारी गराउनु भयो । उक्त प्रतियोगितामा थम हुनेलाई ७ हजार ५ सय रुपैंया, द्वितीय हुनेलाई ५ हजार, तृतीय हुने लाई ३ हजार र चौथो हुनेलाई प्रोत्साहन स्वरुप १ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
वि. सं २०७४ सालदेखि नगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता गर्दै आएको शान्ति माबिले गत वर्षदेखि दायरा बढाएर जिल्ला स्तरीय बनाएको थियो । यस वर्ष करीव ५० विद्यालय सहभागी हुने अपेक्षा गरिएको हाजिरीजवाफ प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी गराउनु भयो ।
यसैगरी विद्यार्थीहरुको सीप र क्षमतालाई बढावा दिनको लागि सोही दिन खाना महोत्सव र हस्तकला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै माघ ३० गते दृष्टिविहीन विद्यार्थीहरुको क्रिकेट तथा अन्य खेलकुदका फाईनल खेलहरु, फागुन २ गते सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम, विद्यार्थीको पढाइ सीपलाई उजागर गर्न अभिभावकको सहभागितामा पढाई महोत्सव तथा विद्यार्थीहरुद्वारा निर्मित विज्ञानका सामाग्रीको प्रर्दशनी गरिने बिद्यालयले जनाएको छ ।
यसैगरी फागुन ३ गते पुरस्कार वितरण तथा फागुन ४ गते वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह सांस्कृतिक तथा रचनात्मक क्रियाकलापका साथ मनाउने कार्यक्रम छ । सोही अवसरमा दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवन सिलान्याश तथा विद्यालयको मुखपत्र नानी को विमोचन लगायतका कार्यक्रम गरिने बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शरद भट्टराईले जानकारी गराउनु भयो ।
कार्यक्रममा सह–प्रधानाध्यापक किशोरकुमार खनाल, सञ्चार विभागका संयोजक दिनेश खड्का लगायतले बोल्दै विद्यालयले सञ्चालन गर्ने क्रियाकलापका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

यसैबीच, माघ १९ गतेदेखि चरणबद्ध रुपमा खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
बुधबार भएको खेलहरुका विजेताहरुलाई विद्यालयका सल्लाहकार सदस्य किशोरमणि आचार्य दीक्षित, व्यवस्थापन समिति सदस्य सुरेन्द्र के.सी., विद्यालयका सह–प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
विद्यालयले खेल, नृत्य, हाजिरीजवाफ, साहित्यिक, बालक्लव, जुनियर रेडक्रस सर्कल, अनुशासनक्लव, विज्ञान क्लव, भित्ते पत्रिका समिति, आई.एस.ए.,एस. क्यू.सी., स्माईलिङ् हेल्पिङ् क्लवआदि गठन गरेर त्यस मार्फत विद्यार्थीको अन्तर्निहित प्रतिभा विकास गर्ने गरेको छ । हालविद्यालयमा विभिन्न क्षेत्रका गरी करीव ३ हजार ६ सय जना विद्यार्थीहरु अध्ययनरत छन् भने १४० शिक्षक शिक्षिका कार्यरत रहेको बिद्यालयले जनाएको छ ।