अब मधेस बनाऔँँ-प्रधानमन्त्री

623

अब मधेस बनाऔँँ-प्रधानमन्त्री

pmचितवन, २१ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताप्रति नेकपा (एमाले) सबैभन्दा बढी चिन्तित रहेको बताउनुभएको छ ।

एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलालाई  सौराहामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले नेपालका हिमाल, पहाड, मधेस र तराई जहाँ जो बसे पनि सबै नेपाली भएको बताउँदै एकार्काका बीचमा मानवीय दृष्टिले बन्धुत्वको व्यवहार गर्ने काममा एमाले कहिल्यै पछि हट्दैन भन्नुभयो ।

उहाँले भन्नुभयो–“मधेसका जनताप्रति अहिले सरकार चिन्तित छ, नाकाबन्दी गरेर जनतालाई सास्ती दिने र आर्थिक रुपमा सङ्कटतर्फ धकेल्ने काम जो कोहीले गरे पनि अस्वीकार्य हुन्छ ।

उहाँले मधेसी, महिला, जनजाति, दलित, अल्पसङ्ख्यक लगायतका पक्षमा संविधानमा स्पष्ट उल्लेख रहेको बताउँदै उहाँले भन्नुभयो “महिलाहरु राष्ट्रपति र सभामुख भएका छन्, यही संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ ।”

यो संविधानका पक्षमा सबैभन्दा बढी बोल्ने ठाउँ एमालेलाई रहेको बताउँदै उहाँले न्याय, इमान्दारी र अधिकारका लागि लडेको पार्टी एमालेलाई संविधानका बारेमा बोल्ने ठाउँ नभए अरु कसलाई छ भनी प्रश्न गर्नुभयो । उहाँले कुतर्कले जनतालाई उत्तेजित बनाउने र सधैं हामी सुनिरहने हुन सक्दैन भन्दै संविधानका अन्तर्वस्तुका विषयमा देखिएका अस्पष्टता गाउ ँगाउँमा पुगेर जनतालाई प्रस्ट पार्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“एम्बुलेन्स जल्छन्, घाइते मारिन्छन्, प्रहरीमाथि आक्रमण हुन्छ, सरकारले कति संयमता अपनाउने ?” उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “जनतालाई सास्ती र प्रहरी मार्ने काम सह्य हुँदैन ।” शान्ति र सामाजिक जीवन खल्बलाउने र अर्काको हक हनन गर्ने जोकोही माथि सरकार उदार बन्न नसक्ने बताउँदै उहाँले भन्नुभयो “सरकार जनताको जिउको रक्षाका लागि मैदानमा उत्रनैपर्छ, सधैँ यसरी चल्दैन ।”

उहाँले आग्रह गर्नुभयो “अब मधेस बनाऔँँ, मधेसलाई पछाडि पर्न नदिऔँँ ।” मधेसवादी दलसँग भइरहेको वार्ताप्रति इङ्गित गर्दै उहाँले कूटनीतिक प्रयास भइरहे पनि बैठकमा एकातिर बोलाए अर्कातिर जाने प्रवृत्तिले वार्ता सफल हुन नसकेको भनी व्यङ्ग्य गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “कहिले आउन भ्याउनुहुन्न, कहिले अन्तै बैठक पर्छ ।”

सीमाङ्कन भूगोल र जनसङ्ख्याका आधारमा
सीमाङ्कनका विषयमा प्रधानमन्त्री ओलीले मधेसवादी दलले निहुँ खोज्ने काम मात्रै गरिरहेको बताउनुभयो । भारतमा ६५ वर्ष बित्दा पनि प्रदेशको सीमाङ्कन हेरफेर भइरहेको बताउँदै उहाँले हामी यसमा छलफल गर्न तयार छौँ, सच्याउन सकिन्छ भन्नुभयो । सीमाङ्कन भूगोल र जनसङ्ख्याका आधारमा व्यावहारिक हुने गरी गर्नुपर्ने बताउँदै उहाँले प्रदेशको राजधानी, नामाङ्कन लगायत विषय बाँकी रहेकाले तिनीहरुलाई पनि एकै पटक छलफल गरेर टुङ्ग््याउन सकिन्छ भन्नुभयो । भौगोलिक, प्रशासनिक र स्रोतको समान उपभोग हुने गरी प्रदेश व्यवस्थित गर्न सकिने उहाँले बताउनुभयो ।

पार्टीभित्रका शीर्ष नेताहरुको असाधारण एकताकै कारण मुलुकका सबै सफलता मिलेको बताउँदै उहाँले सङ्ख्याको हिसाबले दोस्रो रहे पनि एमाले वैचारिक र राजनीतिक हिसाबले पहिलो पार्टी भएकाले देशलाई डो¥याउने भूमिका पनि आफूहरुकै काँधमा रहेको बताउनुभयो ।

भेलाको उद्घाटन सत्रमा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनतालाई सम्बोधन गर्न सकेको संविधानको अन्तर्वस्तुलाई गाउँ गाउँमा पुगेर बुझाउनका लागि सहज होस् भन्ने उद्देश्यले भेलाको आयोजना गरिएको बताउनुभयो । बृहत् छलफलपछि एमाले ठोस निष्कर्षमा पुग्ने पनि उहाँले बताउनुभयो ।
मङ्गलबारसम्म चल्ने भेलामा तराईका २२ जिल्लाका २७५ सांसद, जिल्ला अध्यक्ष, इन्चार्ज, अञ्चल संयोजक, इन्चार्ज, केन्द्रीय नेतालगायतको सहभागिता छ । रासस