बुटवल, मंसिर २१ ।संघीय गठबन्धनको विरोध सभालाई सम्बोधन गर्न बुटवल आएका संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले तराईंमा जारी आन्दोलनमा प्रहरी, प्रसासनमा ढुङ्गा–मुढा हान्नु, पेट्रोल बम हान्नु, आगो लगाउनु जस्ता कार्य आन्दोलनको क्रममा हुने शान्तिपूर्ण घटना भएको बताएका थिए । गठबन्धनका कार्यकर्ताहरुलाई सम्बोधन गरे पश्चात आदीवासी जनजाती पत्रकार मञ्च रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै नेता राईले केही एक दुई स्थानमा घटना नभई दुर्घटना भएको दावि गरेका थिए । एम्बुलेन्समा आगजानी, औषधीमा आगजनी, पेट्रोल छर्केर अगो लागाउने जस्ता कार्यलाई उनी दुर्घटना भएको भन्दै यसबाट आफ्नो पार्टी चिन्तीत भएको समेत भन्न भ्याए । सरकारले वर्ताको नाममा नाटक मञ्चन गरेको टिप्पणी गरेका नेता राईले दिल्ली मात्र होईन मोर्चाका नेता अमेरिका पनि जान सक्ने बताएका थिए । उनले भने–‘हामी दिल्ली मात्र होईन, अमेरिका, युरोप पनि जान्छौ ।’ उनले मोर्चाका नेता दिल्ली जाँदैमा वार्ताको वातावरण समाप्त भएको भन्ने नसोच्न समेत आग्रह गरेका थिए । अहिलेको संविधान अन्तरिक संविधान भन्दा पनि अन्तरविरोधी र अन्तरघाती भएको उनको तर्क थियो । नेता राईले पहिला आदिवासी जनजाती, मोर्चासंग गरिएको सम्झौता पुर्णरुपमा कार्यान्वयन नहुँदा सम्म आन्दोलन जारी रहने बताएका थिए ।