सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा ३ दिन शोक बिदा

905

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा ३ दिन शोक बिदा


बुटवल । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका व्यवस्थापन समितीका अध्यक्ष हिरा प्रसाद श्रेष्ठको निधनमा क्याम्पसमा ३ दिन शोक विदा भएको छ । उहाँको निधनमा क्याम्पसले चैत ४,५ र ६ गते शोक विदा दिएको क्याम्पस प्रमुख विष्णुप्रसाद रानाले बताउनु भयो ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ निवासी श्रेष्ठको बुधबार बिहान सवा तीन बजेको समयमा आफ्नै निवासमा निधन भएको हो । बि.स. २००० साल साउन १० गते पिता निलप्रसाद र आमा तारालक्ष्मी श्रेष्ठको कोखबाट दोस्रो सन्तानको रुपमा पाल्पाको भैरवस्थानमा जन्मिनुभएका श्रेष्ठ व्यापार व्यबसायको सिलसिलामा २०१७ सालमा बुटवल झर्नु भएको थियो ।

आफ्नो व्यापार व्यबसायसंगै यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासमा विशिष्ट योगदान गर्नुभएका श्रेष्ठले २०४८ देखि ५३ सम्म २ कार्यकाल बुटवल उद्योग बाणिज्य संघको अध्यक्ष भएर काम गर्नुभएको थियो ।
यस क्षेत्रका सामाजिक बिकासमा क्रियाशिल हिराप्रसाद बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापनाकालदेखि क्याम्पस ब्यवस्थापन समितिको सदस्यको रूपमा रहि क्याम्पसको विकासमा निरन्तर क्रियाशील हाल क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष, विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो ।