पाल्पाको रिब्दीकोट गाउँपालिकामा योग प्रशिक्षण गरिएको छ । रिब्दीकोट गाउँपालिका पालुङ्मैनादी आयुर्वेद औषधालयको आयोजनामा तीन दिनसम्म योग प्रशिक्षण गरिएको हो । गाउँपालिकाका बिभिन्न वडाबाट सहभागिता रहेको उक्त योग प्रशिक्षण कार्यक्रम बिहिबार समापन गरिएको हो । रिब्दीकोट गाउँपालिकामा पालुङ्मैनादी आयुर्वेद औषधालयले नियमित रुपमा योग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको औषधालयका प्रमुख डा. रोमहर्ष नेपालले बताउनु भयो ।
योग प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै गाउँ पालिकाका अध्यक्ष नारायणबहादुर जिसीले योगले मानिसलाई फूर्तिलो बनाउनुको साथै स्वस्थ्य रहन समेत मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, लेखा अधिकृत मञ्जु पन्थी तथा बिभिन्न वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा पालुङ्मैनादी आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपाल, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक माधवप्रसाद बस्याल, जिल्ला समन्वय समिति पाल्पाकी सदस्य तथा योग प्रशिक्षक कमला थापाले योगको शैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गर्नुभएको थियो ।