रेशम चौधरीको मुद्धा खारेज गरेपनि केपी ओलीसंग सत्ता साझेदारी हुँदैन : जसपा अध्यक्ष यादव

572

रेशम चौधरीको मुद्धा खारेज गरेपनि केपी ओलीसंग सत्ता साझेदारी हुँदैन : जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष द्वय महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसंग सत्ता साझेदारीमा सम्वाद गरिरहेका बेला अर्का अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरी लगायतलाई रिहाई र मुद्धा खारेज गरेपनि केपी ओलीसंग सत्ता साझदारी हुनै नसक्ने दावी गर्नुभएको छ । ‘राजनैतिक आन्दोलनमा होमिएकालाई फौजदारी मुद्धा लगाएर समाधान हुन सक्दैन ।’ उहाँले भन्नुभयो–‘ती समस्याको समाधान पनि राजनीतिक रुपमै हुनुपर्छ ।’
मुलुकको वर्तमान राजनीतिक निकासको लागि ओलीलाई हटाएर संसद विघटन (प्रतिगमन)को बिरोध गरेका लोकतान्त्रिक शक्तिहरुको बिचबाट नयाँ सरकार बनाउनु उपयुक्त विकल्प हुने पनि उहाँले भनाई राख्नुभयो ।
अध्यक्ष द्वय ठाकुर र महतोले प्रधानमन्त्री ओलीसंग सत्ता समिकरणको बिषयमा नभई राजनीतिक बन्दी रिहाई र मुद्धा खारेजीको विषयमा मात्रै छलफल गरेको दावी गर्नुभयो । पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा रुपन्देही आउनु भएका अध्यक्ष यादवसंग प्रेस मञ्च नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा संघीय गणतन्त्रलाई समाप्त पार्ने प्रधानमन्त्री ओलीको चेष्ठाको कारण मुलुक यो अवस्थामा आईपुगेको बताउँदै आफ्नो पार्टीले प्रतिगमनलाई कुनैपनि हालतमा मलजल गर्न नसक्ने दावी गर्नुभएको हो ।
सरकारले बहुमत गुमाएको र औपचारिकता मात्रै बाँकी रहेकोले उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीले पार्टी र सत्ता सञ्चालनमा असफल भएकोले सत्तामा टिकिईरहनको लागि प्रतिगनको यात्रामा अंगाडी बढेको समेत आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको ध्यान मुलुकको समृद्धि केन्द्रित नभई संघीय लोकतन्त्र, संविधानलाई समाप्त पार्ने र पुराना एकात्मक प्रणालीमा मुलुकलाई फर्काउने काममा केन्द्रित भएको समेत आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्री ओलीले पुनःस्थापित संसदलाई सफल बनाउने भन्दा पनि विजनेश नदिएर असफल पार्ने काम गरेको समेत आरोप लगाउनु भयो । ‘संसदमा विधेयक नपठाउने, विजनेश नदिने हो भने संसदको के काम हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो । देशमा भ्रष्टाचार बढेको र स्वयम प्रधानमन्त्रीले भ्रष्टाचारलाई ढाकछोप गर्ने काम गरेकोले पनि यो सरकार अन्तर्राष्ट्रिय जगतमा समेत बदनाम भईरहेको भनाईन राख्नुभो ।