कोरोना भाईरस संक्रमणका बिरामी दिनप्रतिदिन बढीरहेका बेला नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालय आइसोलेसन निमाणको लागि दिने निर्णय गरेको छ । दोस्रो चरणमा फैलिएको कोरोना भाईरस महामारी समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामीलाई वेड अभाव भईरहेका बेला बिरामीको उपचारलाई सहज बनाउनको लागि यस्तो निर्णय गरिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालको पछाडी दुईवटा हल र ११ कोठा रहेको कम्पाउण्ड सहितको दुई तल भवन छ । उक्त पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल वा आइसोलेसन सेन्टर निर्माणको लागि दिने निर्णय गरेको हो ।
नेपाली काँग्रेसको उक्त पार्टी कार्यालय भवनमा आइसोलेसन निर्माणको लागि संघीय, प्रदेश तथा स्थानीय सरकार वा गैरनाफामुलक संस्थाले लिन चाहेको खण्ठडमा तत्कालै दिने व्यबस्था मिलाईएको पार्टी सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी गराउनु भयो ।
कोरोना भाईरस संक्रमित बिरामीलाई उपचारमा समस्या नहोस र उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले पार्टी कार्यालय आइसोलेसन वा अस्थाई अस्पताल निर्माणमा दिन लागिएको बताउँदै आवश्यक अरु सहयोग समेत गर्न पार्टी तयार रहेको सभापति रज्जाकले बताउनु भयो । उहाँले कोरोना भाईरस रोकथाम तथा निण्न्त्रणमा गम्भिर बन्न तीन तहका सरकारलाई आग्रह गर्दै स्वास्थ्य सुरक्षा मापण्डको पालना गर्न तथा स्वअनुशासनमा रहन समेत आम नागरिकलाई आग्रह गर्नुभयो ।