खोटाङ, मंसिर २२/नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रदेशको सीमांकन हेरफेरका लागि आफ्नो पार्टी तयार रहेको भन्दै सर्त नराखी वार्तामा आउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई आग्रह गरेका छन्।नेपाली काँग्रेस क्षेत्र नम्बर २ खोटाङले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा काँग्रेस सभापति कोइरालाले सबैभन्दा ठूलो दल र मुख्य प्रतिपक्षीका नाताले मधेश आन्दोलन सम्बोधन गर्नु नेपाली काँग्रेसको जिम्मेवारी भएको भन्दै आफ्नो पार्टी सीमांकन हेरफेरका लागि तयार रहेको बताए।उनले काँग्रेसबाहेकका अन्य दलहपनि सीमांकन हेरफेरप्रति लचिलो रहेकोभन्दै बिना सर्त वार्तामा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे। मोर्चाले मधेशका जिल्लामा २ वटा प्रदेश बनाइनुपर्ने मागलाई आफ्नो बटमलाइन बताउँदै आएको छ। काँग्रेस सभापति कोइरालाले मोर्चा सर्त नराखी वार्तामा आए सहमति हुने बताए।कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमांकन हेरफेरका लागि काँग्रेस लचिलो हुनुपर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जस्तै नश्लवादी भएको आरोप लगाउँदै त्यहीकारण मधेश आन्दोलन लम्बिएको बताए। उनले करिब चार महिनादेखिको आन्दोलन टुंग्याउनका लागि काँग्रेसले सबै दललाई सहमतिमा ल्याउन मध्यमार्गी भूमिका खेल्नुपर्ने बताए।कार्यक्रममा खोटाङ जिल्लामा कौशलराज रेग्मी र जयबहादुर राई स्मृति पुस्तकालयको भवन निर्माणमा आर्थिक सहयोग गरेकाहरुलाई सम्मान गरिएको थियो।