नेपाली काँग्रेस रुपन्देहीले पार्टीका सदस्य, शुभेच्छुक तथा संघसंस्थाहरुलाई कोरोना महामारीका कारण संकट तथा विपदमा परेकाहरुलाई सक्दो सहयोग गर्न अपिल गरेको छ । काँग्रेस रुपन्देहीले सोमबार एक बिज्ञप्ती जारी गरी कोरोना भाईरस संक्रमणका कारण संकटमा परेका तथा विपदमा परेकाहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सहयोग गर्न अपिल गरेको हो ।
कोरोना भाईरस महामारीका कारण रुपन्देही जिल्लाको जनजीवन नराम्रोसंग प्रभावित भएको औंल्याउँदै नागरिकको जिवन रक्षा गर्नका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न सरकारसंग माग समेत गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ –‘जिल्लामा दैनिक सयौंको संख्यामा कोभिडका बिरामी थप हुदै गएका छन् भने जिल्ला कोरोनाको हटस्पट बनेको छ । आम जनमानसमा कोभिड–१९ को कारणले भय, त्रास र डरको वातावरण सृजना भएको छ । तीनै तहका सरकारहरुबाट जनताले विश्वास गुमाइसकेको अवस्था छ ।’
हालसम्म रुपन्देही जिल्लामा १८०७० जना कोरोनाबाट संक्रमित भईसकेका छन् । कोरोना भाईरस संक्रमणकै कारण २६८ जनाले ज्यान गुमाएका छन् । जिल्लामा रहेका ५ वटा कोरोनाको उपचार हुने अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको छ – बिज्ञप्तीमा भनिएको छ ।
कोरोना भाईरस संक्रमितले अस्पतालमा बेड खोज्दाखोज्दै घरमै, बाटोमै ज्यान गुमाउनु परेको दयनीय घटना देख्नुपरेको उल्लेख गर्दै सरकार नागरिकको जीवन रक्षा गर्ने भन्दा पनि सत्ता र कुर्चीको खेलमा लिप्त बनेको आरोप लगाईएको छ ।
महामारीको विषम परिस्थितीमा नागरिकको जीवन रक्षाको लागि आवश्यक अक्सिजन, आईसीयु बेड, खोप लगायत औषधिको तत्काल व्यबस्था गर्न समेत सरकारसंग माग गरिएको छ । महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारमा अहोरात्र खटिने चिकित्साकर्मी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय जनप्रतीनिधीहरुको स्वास्थ्य सुरक्षामा गम्भिर बन्न समेत सरकारलाई आग्रह गरिएको छ ।
