रुपन्देहीका १८ जना पत्रकारलाई कोरोना संक्रमण : महासंघद्वारा राहत कोष स्थापना

1.3K

रुपन्देहीका १८ जना पत्रकारलाई कोरोना संक्रमण :  महासंघद्वारा राहत कोष स्थापना

विश्वमा फैलिएको कोरोना भाईरस महामारीका कारण पत्रकार पनि संक्रमित भएपछि उनीहरुको राहतका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले आपतकालिन कोष स्थापना गरेको छ । महासंघ रुपन्देहीको आज (सोमबार) भिडियो सम्वादका माध्यमबाट भएको कार्यसमितिको बैठकले संक्रमणमा परेका पत्रकारहरुको राहतका लागि ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गर्ने निर्णय हो ।
रुपन्देहीमा हालसम्म १८ जना पत्रकार संक्रमण पुष्टि भएको पत्रकार महासंघ रुपन्देहीले जनाएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव बिनोद परियारद्वारा जारी विज्ञप्तीमा संक्रमित मध्ये ३ जनाको अस्पतालमा उपचार भईरहेको र बाँकी मध्ये केहीलाई निको भएको र अधिकांश आइसोलेशनमै रहेको जानकारी गराईएको छ ।
महामारीको विषम परिस्थितीमा पनि जनतालाई सूसुचित गराउने काममा रुपन्देहीका पत्रकारहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै कठिन परिस्थतीमा पनि आमनागरिकलाई सूसुचित गर्न अहोरात्र खट्ने पत्रकारलाई कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या हुँदा सहज रुपमा बेडको व्यवस्थापन मिलाउन सरकार तथा स्वास्थ्य संस्थाहरुलाई आग्रह समेत गरिएको छ ।
त्यस्तैगरी महामारीका बेला अग्रभागमा रहेर निरन्तर सूचना प्रवाह गर्ने पत्रकार र सञ्चारगृहलाई प्रोत्साहन गर्ने तथा आत्मबल बढाउने कार्यक्रम ल्याउन सरकारसंग माग गर्दै महामारीको समयमा घरबाटै वैकल्पिक व्यबस्थाको प्रयोग गरि काम गर्ने व्यबस्था मिलाउन र खाईपाई आएको सेवा सुविधा कटौती नगर्न समेत सञ्चार गृहहरुलाई आग्रह गरिएको छ ।
महासंघले आफ्नो स्वास्थ्य भन्दा ठूलो अरु केही नभएको भन्दै पहिला आफू सुरक्षित हुन र त्यसपछि मात्रै पत्रकारको भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ ।