मोर्चाका नेता दिल्लीमा व्यस्त

272

मोर्चाका नेता दिल्लीमा व्यस्त

morcha-photo

मंसिर/भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले भारतका विभिन्न राजनीतिक नेतासँग भेटवार्ता तिव्रता दिइरहेका छन् ।यसैक्रममा उनीहरुले सोमबार बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराजदूत जयन्त प्रसाद, देव मुखर्जी, शिवशङ्कर मुखर्जी, श्यामशरणलगायतको सहभागिता थियो ।

मधेसी मोर्चाका नेता त्यहाँका विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताका लागि व्यस्त रहेको मोर्चाका एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए । उनका अनुसार मङ्गलबार मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने छन् ।

यसअघि आइतबार हैदराबाद हाउसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका मोर्चाका नेताले नेसनलिस्ट काँग्रेसका नेता करण सिंह, डिपी त्रिपाठी, जनता दलका अध्यक्ष शरद यादव, भारतीय कम्युनिस्ट पार्टी माक्सवादी का महासचिव सीताराम येचुरीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आइतबार भारत गएको मोर्चाको टोली बुधबार स्वदेश फर्कने कार्यक्रम छ । मोर्चा आबद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नेपालको मधेस आन्दोलनबारे भारतीय सरकार र भारतीय राजनीतिक दललाई जानकारी गराउन दिल्ली पुगेका हुन् । –