कोरोना संक्रमणका बिरामीको चाप बढ्दैगएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित बिरामीको सहज उपचारको लागि नगरपालिकाले सेन्टर फ्लो अक्सिजन सिष्टम सहित वडा नं. ९ केरवानीमा रहेको सभाहल र अतिथीगृहमा कोरोना अस्थायी अस्पताल सञ्चालन गरेको हो ।
शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएपछि थप आइसोलेशन निर्माण गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताउनु भयो । तत्काल ४० बेडमा सञ्चालन गरिएपनि एकसय बेडसम्म पु¥याउन सकिने स्वास्थ्य शाखाकाले जनाएको छ ।
अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ ।
बुधबार अस्थायी अस्पतालको चावी कोरोना फोकल पर्सन भट्टराईलाई हस्तान्तरण गर्दै नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्ने बताउनुभयो ।
अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा वडा नं. ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नं. ५ का चेतनारायण भण्डारी, वडा नं. ७ का दुर्गा पाण्डेय, वडा नं. ८ का कृष्ण पौडेल, प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा कोरोना फोकल पर्सन केशव भट्टराई रहनुभएको छ ।