स्थायी कमिटि बैठक : माधव नेपाल सहित ११ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

710

स्थायी कमिटि बैठक : माधव नेपाल सहित ११ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ११ जना नेतालाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसको पार्टीको स्थायी कमिटि बैठकले तीन सांसद समेत रहेका ती नेताहरुलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी पेस गर्दा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । उनीहरु एमाले नेता माधवकुमार नेपाल–झलनाथ खनाल समुहका हुन् । काँग्रेस सभापति देउवाको पक्षमा २६ जनाले हस्ताक्षर गरेपनि स्थायी कमिटि बैठकले ११ सांसदलाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
हस्ताक्षर गरेका मध्ये केहीले हस्ताक्षर दुरुपयोग गरिएको र केहीले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनको लागि मात्रै हस्ताक्षर गरेको बताएकाले ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय गरिएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बताउनु भयो ।
प्रवक्ता ज्ञवालीका अनुसार पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिका खातुन र निरा जैरुलाई पर्सी (सोमबार) बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको हो ।