रामपुरले कोरोना बिरुद्धको खोप खरिदका लागि सरकारसंग स्वीकृती माग्यो

438

रामपुरले कोरोना बिरुद्धको खोप खरिदका लागि सरकारसंग स्वीकृती माग्यो

पाल्पाको रामपुर नगरपालिकाले आफै खोप खरिदका लागि सरकारसंग स्वीकृति मागरेको छ । नगर प्रमुख रमणबहादुर थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसंग कोरोना खोप खरिदका लागि अनुमती माग्नु भएको हो ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि नगरको आफ्नै लगानीमा पचास हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर अनुमती मागेको नगर प्रमुख थापाले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका रामपुरका स्थानीय सन्दीप रानासँगको समन्वयमा भारतमा खोप खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी गराउँदै नगरपालिकाको लगानीमा खोप खरिद गर्ने नगर प्रमुख थापा बताउनु भयो ।
रामपुर नगरपालिकाको आग्रहलाई स्वास्थ्य मन्त्री त्रिपाठीले सकारात्मक रुपमा लिएर सरकारको तर्फबाट केही आर्थिक तथा प्राविधिक सहयोग दिने, खोप खरिद तथा भण्डारमा सहयोग गर्ने आश्वासन दिएको नगर प्रमुख थापाले बताउनुभयो ।
स्वास्थ्यमन्त्री संगको भेटघाटमा नगर प्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, विकास वजेट र जनप्रतिनिधिहरुको भक्ता कटाएरै भएपनि नगरवासीको लागि पचास हजार खोप खरिद गर्ने जानकारी गराउनु भएको थियो ।
“पचास हजार खोप भारतका तीन कम्पनीसंग खारिदका लागि कुराकानी भइरहेको छ, अग्रप्रक्तिमा काम गर्ने नागरिकले यसभन्दा अगाडी नै दोस्रो चरणको खोप लगाइसकेका छन् भने पचास हजार खोपले सबै नगरवासीका लागि खोप लगाउने योजना अनुसार नगर सरकार लागि परिरहेको छ” नगर प्रमुख थापाले भन्नुभयो ।
रामपुर नगरपालिका भित्र पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या बढ्दै जाँदा नगर सरकार आफैले खोप खरिद गर्ने भएको हो ।