एमाले नेता नेपाल, खनाल सहित ११ जनालाई पार्टीबाट निस्काशन : १२ जनालाई स्पष्टीकरण

639

एमाले नेता नेपाल, खनाल सहित ११ जनालाई पार्टीबाट निस्काशन : १२ जनालाई स्पष्टीकरण

नेकपा एमालेले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ । त्यस्तै १२ जनालाई थप स्पष्टिकरण सोध्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटि बैठकले वैकल्पिक सरकार गठनको लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका वरिष्ठ नेता नेपाल, खनाल सहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
वैकल्पिक सरकार गठनका लागि काँग्रेस सभापत देउवाको पक्षमा उनीहरु सहित २६ जनाले हस्ताक्षर गरेपनि पार्टीले ११ जनालाई मात्रै स्पष्टीकरण सोधेको थियो । तर उनीहरु कसैले पनि स्पष्टीकरण दिएका थिएनन् । स्पष्टीकरणका लागि दिईएको समय सकिएसंगै स्थायी कमिटि बैठक बसेर कारवाहीको निर्णय गरेको हो ।
बैठकले विघटित प्रतिनीधि सभा (संसद) पुनस्थापना र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्बोच्चमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए भने संसद पुनस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तीको माग सहित एमालेका २३ सांसदले सर्बोच्चमा रिट हालेका छन् ।