सिद्धार्थ गौतम बुद्धलाई खुल्ला चिठी

668

सिद्धार्थ गौतम बुद्धलाई खुल्ला चिठी

वसन्त पोखरेल /

हुन त यतिबेला तपाईं सशरीर हुनुहुन्न । सञ्चो विसञ्चो सोध्नुको पनि कुनै अर्थ रहेन । तै पनि तथागत सिद्धार्थ गौतम बुद्धज्यूलाई सादर प्रणाम गर्दछु । जहाँसम्म मेरो कुरा छ ब्यक्तिगत वा पारिवारिक रुपबाट भन्नुपर्दा अहिलेसम्म हामी तपाईं जन्मेको जिल्लामा सकुशल नै छौँ । पहिलो चरणको कोरोनाबाट प्रभावित भएर पनि जोगियो । दोस्रो चरणको कोरोनाले अहिलेसम्म कसैलाई छोएको छैन । छोयो भने बाँच्ने सम्भावना क्षीण छ । त्यसैले अक्सिजन फोक्सोमा पुराउनको लागि एका विहानै उकालो ओरालोमा खुट्टा तन्काउँदै श्रीमान् श्रीमती जाने गरेका छौँ । भविष्यमा के हुन्छ के हुँदैन थाहा छैन । जब माथि डाँडामा पुगेर लुम्बिनी सल वनतिर नजर पुग्छ त्यतिबेला तपाइँलाई टाढैबाट साष्टांग प्रणाम गर्छौं ।
आज तपाइँ जन्मेको दिन । हार्दिक श्रद्धाञ्जली दिनको लागि यो खुल्ला पत्र लेखेको छु । मेरो प्रणामलाई बिशेष रुपबाट स्विकार्नु होला भन्ने आशा गरेको छु । तपाईंका चार सत्य त मैले जमानामै पढिसकेको हो । राहुल सांकृत्यानले लेखेको चार आर्य सत्य मैले पढेअनुसार बुझेको छु र बुझे अनुसार दिमागमा सञ्चित गरेर राखिरहेको छु । अरु पढ्नेहरुले कति बुझे कति बुझेनन् त्यो थाहा भएन । तर, मैले बुझे अनुसार ईश्वरलाई नमान्नु, आत्मालाई नित्य नमान्नु, कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु, जीवन प्रवाहलाई यो शरीर भन्दा पूर्व र पश्चात् पनि नमान्नु । यति सरल दर्शन दिनु भएको छ कि ईश्वर काल्पनिक हो । मान्छेले प्रकृतिसँग डराएर सहारा खोज्दै जाँदा बाठाहरु ईश्वर बन्न पुगे । यो नै वास्तविक र बस्तुगत सत्य हो । अहिले ईश्वर भन्ने चिज यस्तो भएको छ कि यसकै नाममा नेताहरुले सत्ता हाँकेका छन् । ठगी खाने कमण्डलू ईश्वरलाई बनाइएको छ । तपाईंलाई पनि यहाँ धेरैले ठगेर खाने कमण्डलू बनाइरहेका छन् ।
कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु भनेर तपाईंले प्रतिपादन गर्नु भयो । तर, यहाँ त ग्रन्थको सहारामा समाज चलेको छ । जन्मे देखि मृत्यु भएको लामो समयसम्म पनि ग्रन्थलाई नै आधार बनाइएको छ । ग्रन्थहरुको हुलिया दिएर बच्चा बच्चीको न्वारान गरिन्छ । पास्नी, ब्रतवन्ध, विवाह, चौरासी पूजा, मृत्युपछिका दिनमा गरिने किरिया, श्राद्ध आदिमा गरिने कर्मकाण्ड सबै ग्रन्थकै आधारमा हुन्छन् । ग्रन्थमा लेखिएका श्लोकहरुलाई अकाट्यताको ठप्पा लगाइन्छ । मनुस्मृतिको गहिरो छाप परेको छ । हे ईश्वर भन्दै मानिस ईश्वरको पछि म्याराथन दौड दौडिएको छ । देवताका स्वरुपहरु पनि ३३ कोटी रे । कोटीलाई कतिले करोड पनि भन्न थाले । ३३ लक्षणयुक्त मानिस भनिएको कुरा हेर्नुस् त कसरी अपब्याख्या भइरहेको छ ?
जीवन प्रवाहलाई यो शरीर भन्दा पूर्व र पश्चात पनि नमान्नु भन्ने तपाईंको दर्शन यो समाजमा कामै नलाग्ने दर्शन भएको छ । पूर्व जन्मको पाप र पुण्यको हवाला दिएर यहाँ ठूलाहरुले सानालाई शोषण गरेका छन् । लूटिरहेका छन् । नंग्याइरहेका छन् । दास बनाएर कज्याएका छन् । अनि, पछिल्लो जन्ममा सुख, समृद्धि मिलोस् भनेर मानिसहरुले अनेकथरी धार्मिक अनुष्ठान गरिरहेका छन् । तीर्थयात्रा गरेका छन् । यज्ञ यज्ञादि गरेका छन् । कसैले सप्ताह गर्छन् । स्वस्थानी ब्रत बस्छन् । एकादशिको दिनमा खासगरी महिलाहरु ब्रत बस्छन् । सत्य नारायणको पूजा अनुष्ठान गर्छन् । ता कि मरे पछि स्वर्गमा जान पाइयोस् । अर्को जन्ममा समृद्धि मिलोस् । मानिसलाई पूर्व जन्म र पश्च जन्मको खिचडी पकाएर ख्वाउने लटाधारी, जटाधारीको यहाँ चर्को बिग्बिगी छ । कोही भोले शंकर भन्दै चिम्टा बजाउँदै हिँडेका छन् । कतिपयहरु त झल्लरी छाता चेलाहरुलाई ओढाउन लगाएर देशाटन गर्दै आफ्नो आस्थाको धर्म प्रचार गर्छन् । ठूला मिडियाहरुले यसलाई बिशेष महत्व दिन्छन् । दानको नाममा पैसा ऐंठ्छन् । सरकार पनि यसैबाट सञ्चालित छन् । सम्बिधानलाई भन्दा बढी धर्म पुस्तकलाई प्राथमिकता दिन्छन् ।
धर्मले चपक्कै गाँजेको समाजमा तपाईंको दर्शनको मर्म बौद्ध भिक्षुहरुले पनि बुझ्न सकेको देखिँदैन । भन्ने र भनाउने कुरामा त उनीहरु बुद्धिष्ट देखिन्छन् । तर, माथि उल्लेखित तपाईंको दर्शनको पालना गरेको पाईंदैन । विना शिक्षाको भिक्षा माग्नका लागि अनेक शिर्षकमा कोही सडकमा आर्थिक अनुदान माग्दै हिँडेको देखिन्छ । कोही घरघरमा पुगेर चामल दाल बटुल्छन् । कारण सोध्यो भने बौद्ध मन्दिर बनाउने रकम अनुदान जुटाउन हिँडेको भन्छन् । जब कि मन्दिर बनाउने कुरा तपाईंको दर्शन भित्र पर्दैन । यस्तै कन्त विजोग छ यहाँ । तपाईं जन्मेको ठाउँमा पनि चार आर्य बुद्ध दर्शन पालना भएको छैन । यी कुरा जानकारी गराउनका लागि यो खुल्ला पत्र लेखेको हुँ । तपाईंको जन्म दिनमा योपालि जन्मस्थानमा जान पाइन । त्यसो त पोहर साल पनि जान सकिन । कोरोनाको उर्लंदो संक्रमणले गर्दा सरकारले निषेधाज्ञा लगाएको छ । त्यसैले टाढैबाट पत्र मार्फत पुनः श्रद्धा सुमन अर्पण गरेँ ।
उही तपाईंको अभिलाषी ।

(लेखकको फेसबुक वालबाट)