के हो ब्लक फंगस (म्युकरमाइकोसिस) ?

1.4K

के हो ब्लक फंगस (म्युकरमाइकोसिस) ?

सागर अर्याल /

परिचय
हाल, कोभिड– १९ ले खेलाएको जीवन–मरणको खेलबाट भर्खर विजय प्राप्त गरेका केही बिरामीहरुमा पुनः आर्को रोगको संक्रमण देखा पर्न लागेको छ । सामान्य भाषामा ब्लक फंगस (Black fungus) भनिने यो म्युकरमाइकोसिस (Mucormycosis) को संक्रमण हाम्रो छिमेकी राष्ट्र भारतमा दिनप्रतिदिन बढ्दो छ । यस अवस्थामा नेपालमा पनि यसको संक्रमण छिटफुट रुपमा देखिन लागेको छ ।
म्युकरमाइकोसिस कुनै नौलो संक्रमण भने होइन । इतिहासलाई नियालेर हेर्दै यो ढुसीको संक्रमण प्रायः शल्यक्रिया गरेका वा चोटपटक लागेका वा एच् आइ भी एड्स, क्यान्सर, मधुमेह जस्ता प्रतिरोध शक्ति घातक रोगबाट संक्रमित भएका वा अङ्ग प्रत्यारोपण गरेपछि शरीरको प्रतिरोध शक्ति दमन गर्ने औषधि नियमित सेवन गरिरहेका विरामीहरुमा देखिने गरेको पाइन्छ । वर्तमानमा पनि कोभिडको चपेटामा परेपछि स्टेरोइड (Steroid) जस्ता औषधि खाएका व्यक्तिहरुलाई यो संक्रमण देखा परेको छ । यो संक्रमण एक व्यक्तिबाट आर्को व्यक्तिमा भने सर्दैन ।

संक्रमणको कारण
शारीरिक बनावट, बीजाणु उत्पादन प्रक्रिया, प्रजनन प्रक्रिया आदि विभिन्न कुरालाई मध्येनजर गरी ढुसीहरुलाई पाँच भागमा वर्गीकृत गरिएको छ । तीमध्ये एक हो – जाइगोमाइसीतेस (Zygomycetes) । क्लास जाइगोमाइसीतेस अन्तर्गत दुईवटा अर्डरहरु पर्छन – इन्तोमोफ्थोरलेस (Entomophthorales) र म्युकककराल्स (Mucorales) । इन्तोमोफ्थोरलेस अर्डर अन्तर्गत पर्ने ढुसीहरु तुलनात्मक रुपमा अलिग शक्तिशाली हुन्छन र यीनिहरू स्वस्थ (सामान्य प्रतिरोध शक्ति भएका) व्यक्तिहरुमा पनि संक्रमण गराउन सक्षम हुन्छन् । तर यी ढुसीहरु कम मात्रमा पाइने हुनाले यसको संक्रमण दर न्युन छ । यसको विपरित, म्युकककराल्स अर्डर अन्तर्गत पर्ने ढुसीहरुको संक्रमण भने मुख्यतः प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिहरुमा हुने गर्दछ ।
म्युकरमाइकोसिस पनि म्युकककराल्स अन्तर्गत पर्ने मुख्यतः राइजोपस (Rhizopus) र म्यूकर (Mucor) जिनसका ढुसीहरुको कारणले हुन्छ । यी ढुसीहरु प्राकृतिक रुपमा सडेगलेको फोहोर, अध्यारो र ओसिलो ठाउँमा उम्रन्छन र यसका बीजाणुहरु हावामा फैलिएका हुन्छन् । ती बीजाणुहरु स्वास फेर्ने क्रममा हावासँगै वा चोटपटक लागेका ठाउँबाट शरीरभित्र प्रवेश गर्दछन् ।
सामान्य व्यक्तिमा शरीरको प्रतिरक्षा प्रणालीले यी बीजाणुलाई नष्ट गरेर संक्रमण हुन दिँदैन तर दुर्भाग्यवश यदी यी बीजाणुहरु प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिहरूको शरीरभित्र प्रवेश गरे भने संक्रमण निम्ताउछन् । संक्रमण शरीरको जुनसुकै भागमा हुनसक्छ र एकठाउँमा संक्रमण भैसकेपछि त्यो तिब्रताका साथ शरीर भित्रै आर्को भागमा फैलिने गर्दछ । यसकारण यो संक्रमणको समयमै उपचार नगरे प्राण घातक साबीत पनि हुन सक्छ ।

संक्रमणका लक्षणहरु
म्युकरमाइकोसिसको संक्रमणका कारण संक्रमित क्षेत्रमा कालो दाग देखा पर्ने वरिपरिको क्षेत्र सुन्निएर रातो हुने दुखाइका कारण जोरो आउने जस्ता लक्षण देखा पर्छन् । तर यी लक्षणहरु संक्रमित क्षेत्र अनुसार फरक पर्न सक्छन ।
उदाहरणको लागि, यदि आँखामा संक्रमण भयो भने आँखा रातो हुने, आँखाबाट आशु बगिरहने, दृष्टिमा समस्या हुने र संक्रमण बढ्दै गएपछि आँखा पूर्णरुपमा बिग्रिन्छ । यदि यस अवस्थामा पनि औषधि उपचार गर्नेतर्फ लागिएन भने संक्रमण मस्तिष्कसम्म फैलिएर बिरामीको ज्यान जान पनि सक्छ । त्यस्तै यदि नाक वा श्वास नलीमा संक्रमण भयो भने नाकबाट ढुसीको बीजाणु र फोहोर मिसिएको सिंगान बग्ने, छाती दुख्ने, रगत र बीजाणु सहितको खकार आउने र संक्रमण फोक्सोको अल्भीओलाईसम्म पुगेपछि फोक्सो बिग्रन्छ र यसबाट स्वास्थ्यसम्बन्धी समस्या देखापर्छन् ।
त्यस्तै यदि ढुसीककक संक्रमण शल्यक्रिया गरेको घाउमा भयो भने जटिलता अझ बढ्न सक्छ । यस्तो अवस्थामा घाउ वरिपरिको क्षेत्र अप्राकृतिक रुपमा कालो हुँदै जान्छ र घाउबाट पिप (एक प्रकारको तरल) बगिरहने र घाउबाट कुहिन लागेजस्तो दुर्गन्ध आउने गर्छ । यसको समयमै उपचार गरिएन भने संक्रमण भित्रि अंगहरूमा पनि फैलिन्छ र अनुचित परीणाम देखा पर्न सक्छ । तथ्याड़कका अनुसार सामान्य व्यक्तिमा म्युकरमाइकोसिसको संक्रमण भयो भने मृत्युदर ३५ प्रतिशत रहेको छ तर गम्भीर रोग लागेका व्याक्तिलाई संक्रमण भयो भने मृत्युदर ५० प्रतित भन्दा पनि माथि रहेको छ ।

संक्रमणको पहिचान
सामान्यतः स्वास्थ्यकर्मीहरुले घाउबाट निस्कने तरल, खकार, सिगान आदिको प्रयोगशाला जाँच गरेर रोगको पहिचान गर्न सक्छन् तर कहिलेकाहीँ संक्रमणको जटिलता हेरेर सिटि स्क्यान, एम्.आर्.आइ. आदि विधिहरु पनि उपयोगमा ल्याउनुपर्ने आवश्यकता हुन सक्छ ।

संक्रमणको उपचार
यस रोगको संक्रमण समयमै पहिचान गर्न सकियो भने एन्टीफन्गल औषधिको सेवनले संक्रमणको निदान गर्न सकिन्छ । तर यदि संक्रमण गम्भीर भएपछि उपचार सुरु गरियो भने संक्रमणमाथि औषधिको प्रभाव घट्छ र अन्ततः शल्यक्रिया मार्फत संक्रमित अङ्ग नै हटाउनुपर्ने बाध्यता हुनसक्छ ।

रोकथामका उपायहरु
यस रोगको संक्रमण हुन नदिन व्यक्तिगत एवं वातावरणीय सफाइमा ध्यान दिनुपर्छ । सबैले र सधै सन्तुलन आहारको सेवन गर्नुपर्छ, सफा पानी पिउनुपर्छ र बासी खाना खानुहुँदैन । कोठाहरु उज्यालो र राम्रोसँग हावा परवाह हुनेखालको हुनुपर्छ । चोटपटक लागेको ठाउँलाई राम्ररी सफा गरेर उपयुक्त एन्टीसेप्टिकको प्रयोग गर्नुपर्छ । गम्भीर रोग लागेका बिरामीहरूको हामीले विशेष ध्यान राख्नुपर्छ । साथै यस रोगको संक्रमणका कुनैपनि लक्षणहरू देखा परे भने समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।