नेपालगञ्जको भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाहीको लागि नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलले माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गरि महामारीका बिच पनि स्वास्थ्य सेवामा अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको निन्दा गर्दै उक्त अपराधिक घटनामा संलग्न व्यक्तिलाई तत्काल छानविन गरी हदैसम्मको कारवाहीको माग गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता बिदेन्द्र कनोडियाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – ‘नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि गएराती भएको आक्रमण एवं अस्पताल तोडफोडको घटना अत्यन्त निन्दनीय, घृणित, निर्लज्ज एवं घोर अपराधिक कार्य भएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको सो घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
महामारीको विषम परिस्थितीमा जोखिम मोलेर अग्रमोर्चामा रहि नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल झनै उच्च राख्नुपर्नेमा जिम्मेवार राजनैतिक दलको व्यक्तिबाट अपराधिक घटना हुनु दुःखद रहेको औंल्याउँदै काँग्रेसले उक्त घटनाको तत्काल छानविन गरि आक्रमणमा संलग्नहरुलाई कडा कारवाही गर्न सरकारसंग माग गरेको हो ।
आक्रमणबाट घाइते स्वास्थ्यकर्मीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यकर्मीहरुलाई आफ्नो सेवा निरन्तर नागरिकको पक्षमा उच्च मनोबलका साथ सेवालाई जारी राख्न समेत अपिल गरिएको छ ।
