बुटवलको धागो कारखानामा सञ्चालन गरिएको कोरोना बिषेश अस्थायी अस्पतालको आईसीयु लुम्बिनी प्रादेशिक अस्पतालमा सार्ने तयारी गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमको पहिलो लहर सुरु भएसंगै अघिल्लो वर्ष बन्द धागो कारखानाको भवनमा कोरोनाका बिरामीलाई उपचार गर्नेगरी कोरोना बिशेष अस्थायी अस्पताल सञ्चालन गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालको व्यबस्थापनमा सञ्चालन गरिएको उक्त कोरोना अस्पतालमा पुरानो भवनको छानो जिर्ण भएको र फल्स तथा सिलिङबाट पानी चुहिएपछि आईसीयु अस्पतालको नयाँ भवनमा सार्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले बताउनु भयो ।
बिहिबारदेखि परेको वर्षा नरोकिँदा आईसीयु कक्षको केही भाग जलमग्न भएको र बिरामीको सेवामा खटिएका कर्मचारीले बाल्टीमा पानी उठाएर निरन्तर फ्याक्नुपरेको त्यहाका कर्मचारीहरुले बताए । त्यस्तै नर्सिङ स्टेशन पनि पुरै जलमग्न भएको छ ।
अस्पतालको नयाँ भवनमा २५ एचडीयु बेडको संरचना तयार रहेको र विद्युतीकरणको काम सकेर तीनचार दिन भित्रै नयाँ भवनमा सारिने मेसु खनालले बताउनु भएको छ । धागो कारखानामा अहिले १५ बेड आईसीयू, ३६ बेड एचडीयू र ४ वटा भेन्टिलेटर बेड छन् । धागो कारखानामा अहिले १० जना कोरोना संक्रमित बिरामीको उपचार भईरहेको अस्पतालले जनाएको छ ।