रोटरी क्लव अफ बुटवल साउथद्वारा रुपन्देहीका अस्पताललाई सि–प्याप मेसिन प्रदान

769

रोटरी क्लव अफ बुटवल साउथद्वारा रुपन्देहीका अस्पताललाई सि–प्याप मेसिन प्रदान

रोटरी क्लव अफ बुटवल साउथले रुपन्देहीका तीन अस्पताललाई सि–प्याप मेसिन प्रदान गरेको छ । युकेमा रहेका नेपालीहरुले सञ्चालन गरेको लेट नेपाल ब्रेथको आर्थिक सहयोग तथा कोडेक युकेको सहकार्यमा उक्त मेसिन रुपन्देहीमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवल र भैरहवा स्थित भिम अस्पताललाई प्रदान गरिएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
रोटरी क्लवको टोलीले आईतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सुर्यबहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनाल, भिम अस्पतालका अध्यक्ष नारायण भण्डारी र मेडिकल सुपरिटेन्डेण्ट डा. सकुन्तला गुप्ता तथा आम्दाका वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेललाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको मेसिन ग्रहण गर्दै अस्पतालका अध्यक्ष तथा मेडिकल सुपरिटेन्डेन्टहरुले कोरोना संक्रमण बिरामीको उपचारमा अति उपयोगी मेसिन अस्पताललाई प्रदान गरेकोमा क्लव तथा सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । अस्पताललाई प्रदान गरिएको उक्त मेसिन सञ्चालनको लागि रोटरी ई–क्लव अफ मेडिको फ्युजन हाईब्रिडका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले प्राविधिक सहजीकरण गर्नुहुनेछ ।

क्लवका अध्यक्ष भुर्तेलका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलललाई २ थान तथा आम्दा र भिमलाई १/१ थान मेसिन प्रदान गरिएको हो । उक्त मेसिनको बजार मुल्य प्रतिथान ७० हजार रुपैंया पर्दछ । कोरोना संक्रमित बिरामीको उपचारमा सहज हुने भएकाले उपचारलाई प्रभावकारी बनाउन उक्त मेसिन सहयोग गरिएको उहाँले बताउनु भयो ।
क्लवले थप १० थान बि–प्याब मेसिन मगाएको र केही दिनमै नेपाल आउने बताउँदै अध्यक्ष भुर्तेलले आएपछि अस्पतालको आवश्यकता अनुसार अन्य अस्पताललाई समेत प्रदान गरिने जानकारी गराउनु भयो । मेसिन प्रदान गर्ने क्रममा अध्यक्ष भुर्तेल सहित एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता, क्लवका एड्मीन चियर किशु शर्मा, ट्रेनर निशानबाबु कार्की, सर्भिस प्रोजेक्ट चियर किशोर गौतम, हेल्थ सर्भिस चियर प्रभा घिमिरे, सामाजिक अभियान्ता सुनिललाल जोशी लगायत सहभागि हुनुभएको थियो । कोरोना भाईरस संक्रमण रहँदा सम्म आवश्यक सहयोगका लागि युकेका ती संस्थासंग सहयोगको सम्झौता गरिएको र आवश्यक सहयोग प्राप्त भईरहेको अध्यक्ष भुर्तेलले बताउनु भयो ।