नेपाल महिला संघ : हिजो र आज

1.1K

नेपाल महिला संघ : हिजो र आज

बिमलराज भट्टराई /

जनसंख्याका आधारमा आधा भन्दा बढी प्रतिशत ओगटे पनि आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक हरेक क्षेत्रमा महिलाहरुको अवस्था र भूमिका पछाडि परेकाछन् । हाम्रो सामाजिक संरचना, परम्परावादी शोच अविकसित राष्ट्र भएको कारणले पनि महिलाहरु अन्याय र असमानता हिंसा र पछौटेपनको शिकार बनिरहेका छन् । महिलाहरुको अवस्थामा सुधार तथा महिला हक अधिकार सन्दर्भलाई कोट्याउनुपर्दा जब जब निरंकुशता हावी हुन्छ, महिला अधिकारको हनन् भएको इतिहासले देखाएको छ निरंकुशताको विरुद्धमा देखिएको महिला हुंकारको मात्रै महिलाका हक हितका पक्षमा सगठति हुन प्रेरणा मिलेको कुरा पनि स्वर्णिम अक्षरले इतिहासमा लेखिएको छ
२००७ सालभन्दा अगाडि मुलुकमा राणाहरुको बिगविगी थियो । राणा शासनले जनताका सबै हकअधिकार खोसेको अवस्थामा के महिला के पुरुष के श्रमिक मजदूर सबै अन्यायमा परेका थिए । यस्तै निरंकुश शासनको अन्त्य गरी सबै नेपाली जनतालाई अधिकार सम्पन्न गराउने उद्देश्यले नेपाली राजनीतिकका शिखर व्यक्तित्व स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २००३ सालमा विराटनगमा जुट मिलमा मजदुर आन्दोलन शुरु भयो । मजदुरहरुको हक हितका साथै न्याय र स्वतन्त्रका लागि चलाइएको उक्त आन्दोलनमा दिव्यादेवी कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी लगायतका महिला नेत्रीहरू गिरफ्तार भएका थिए । यसरी नेपालको इतिहासमा प्रजातान्त्रिक संघर्षमा पहिलो पटक महिलाहरु गिरफ्तारीमा परेका थिए । २००४ सालमा राणाशासनका चरमोत्कर्षको समयमा स्व मंगलादेवी सिंहको सक्रियतामा शान्तिनिकुन्ञ्ज विद्यालयका शिक्षिका र छात्राहरु लिई काठमाण्डौ स्थित म्हीपी भन्ने स्थानमा पिकनिक जाने बहाना बनाई महिला भेला गरी भूमिगत रुपमा नेपाल महिला संघको स्थापना गर्ने आधार तयार गरियो । फलस्वरुप २००४ साल श्रावण २४ गतेका दिन काठमाण्डौको भेडासिंह स्थित चिनीयालान श्रेष्ठको घरमा स्व. मंगलादेवी सिंहको अध्यक्षतामा ११ सदस्यीय नेपाल महिला संघको स्थापना भयो जुन नेपाली महिलाहरुको पहिलो संगठित संस्था हो ।

महिला संघको झण्डाको अर्थ :

रातो रंगको भाग राजनैतिक क्रान्तिको प्रतिक तल्लो रातो रंगको भाग सामाजिक आर्थिक क्रान्तिको प्रतीक, बीचको सेतो भाग स्थायी शान्ति र विकासको प्रतीक मसालको अर्थ अध्यारोबाट उज्यालोतर्फ उन्मुख हुने तथा अन्यायका लागि महिलाहरु पनि विद्रोह गर्न सक्छन् भन्ने अर्थ हो ।
महिला संघको साधारण सदस्य लिन शुल्क १० रुपैंया तिरी वार्ड नगर क्षेत्र जिल्लाबाट बन्न सकिन्छ । नेपाल महिला संघ, नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रही राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला एकताको आदर्शलाई आत्सात गर्दै महिला वर्गको विकास, समृद्धि र संरक्षणका लागि सधै प्रयत्नशीन रहदै आएको छ । महिला शिक्षाको लागि तत्कालिन राणा प्रधानमन्त्री पद्म शमसेरलाई दबाब दिई उनको आफ्नो जग्गा र भवनमा पद्यमकन्या स्कूलको स्थापना गर्न नेपाल महिला संघको तत्कालीन नेतृत्व सफल भएको थियो । त्यसैगरी महिला स्वास्थ्य प्रजनअधिकार महिला मताधिकार महिलाहरुको राजनैतिक अधिकार महिला श्रमिक ट्रेड यूनियन अधिकार लगायतका विविध विषयमा नेपाल महिला संघले आवाज बुलन्द पारेको इतिहासमा साक्षी छ ।
वर्तमान गाउपालिकाका नगर वडा समिति प्रदेश सभा क्षेत्रीय समिति प्रतिनिधि सभा क्षेत्रीय समिति जिल्ला समिति प्रदेश समिति केन्द्रिय समिति र महाधिवेशन सम्म नेपालमा महिलाहरू को सांगठनिक संरचना विस्तार र क्रियाशील रहेको छ । लोकतान्त्रिक विधि र पद्धतिमा मात्रै लैंगिक, जातीय, वर्गीय र पेशागत हकहितको संरक्षण हुन सक्दछ । बहुदलमा आधारित लोकतान्त्रिक शासन पद्धति नेपाल महिला संघको आदर्श हो । महिलाहरु भित्र पनि दलित समुदायका महिला, जनजाति, मुस्लिम वर्ग अपाङ्गता भएका महिला थारू आदि सबैलाई आत्मसम्मानका साथ सांगठनिक संरचनामा गतिशिल बनाउदै जानु यस संस्थाको लक्ष्य हो । पुर्नस्थापित संसदको मिति २०६३ जेष्ठ १६ गतेको पारित प्रस्ताव अनुसार राज्यका हरेका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताका लागि आन्तरिक र बाह्य दुवै खाले संघर्ष महिला संघको चुनौति हो । तसर्थ आगामी नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेशनमा पार्टीको विधानमा व्यवस्था भए अनुसार हरेक तहमा एक तिहाई महिलाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गर्नका लागि नेपाल महिला संघको विभिन्न पदीय जिम्मेवारीमा रहेका महिलाहरु संगठित भई एकताका साथ अघि बढ्नु अपरिहार्य छ । संगठनमा शक्ति हुन्छ र यो संगठित शक्तिले महिलाको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सहयोग गराइरहेको हुन्छ । विपी कोइरालाले परिकल्पना गरेकोको सभ्य, स्वाभिमानी, परिवर्तनशील र पूर्ण विकसित समाज निर्माणका लागि महिला हामी विपिका अनुयायीको एकता सद्भाव र सहकार्यबाट एक अर्काको सम्मान, लोकतान्त्रिक आचरण र व्यवहारमा उतार्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।

नेपाल महिला संघको भूमिका र अबको बाटो :

सबै जिल्लाका स्थानीय तह र वडा टोलसम्म नेपाल महिला संघको संगठन विस्तार तथा सुदृढिकरण गर्दै यसलाई अझै चुस्त र दुरुस्त बनाउने राज्यका हरेक निकाय र तहमा नेपाली काँग्रेस पार्टीको संगठनमा महिलाको अर्थपूर्ण सहभागिताका लागि प्रभावकारी रुपमा अगाडी बढ्नु पर्नेछ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधि महिला र नगर÷गाउँ वडा तहका प्रत्याशी महिलाहरुको भूमिका थप सशक्त बनाउनु पर्नेछ ।
नगरपालिका गाउँपालिका र वडामा प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमको संचालन र सहभागितामा वृद्धि गर्नुपर्नेछ । आफ्नो गाउँ, टोलमा उठेका समसामयिक मुद्दाहरु उठाई नेतृत्व लिन अग्रसर भइरहनु पर्ने गाउँ टोलमा हुने उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, बाटोघाटो पुलपुलैया भवन निर्माण समिति, महिला सञ्जाल, महिला समूह, महिला समन्वय समिति बन उपभोक्ता समिति आदिमा नेपाल महिला संघका साथीहरुले अगुवाई गर्नुपर्नेछ । समय व्यवस्थापन गरी अर्थ उपार्जनका क्रियाकलापमा समेत सहभागी रहदै नेपाली कांग्रेस पार्टीको सबै तहमा सञ्चालन गरिने कार्यक्रममा सहभागीता बढाउनु पर्ने, पार्टी भित्र र नेपाल महिला संघको संगठन भित्र निरन्तर इमान्दारी पूर्वक संगठनमा काम गरिरहेका असल कार्यकर्ताको पहिचान गरी जिम्मेवारी बांडफाड र मूल्यांकनमा जोड दिनुपर्नेछ । नेपाली काँग्रेसको चौधौ महाधिवेशनमा टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति र केन्द्रिय समिति गरी आठ वटै सरचनामा महिलाहरुको ससक्त प्रतिनिधित्वका लागि पहल गर्नुपर्नेछ । तब मात्र महिलाहरू सशक्तिकरणका सवालमा एक कदम अगाड़ी हुनेछन् ।
अन्त्यमा हामीले भेटघाटका क्रममा जय नेपाल भन्ने गौरवमय शब्द बि सं १९९७ सालमा राणाहरुले फांसीमा हाल्दा शहीद शुक्रराज शांस्त्रीलाई तिम्रो अन्तिम इच्छा के छ भनी सोद्धा उनले हांसी हांसी जय नेपाल मात्र भनेका थिए । यसैकारण नेपाली कांग्रेशले भेटघाटको सुरू र अन्तिम अभिवादनमा जय नेपाल भन्ने गरेको हो । शहीदको सम्मानका निम्ती हामी सधै भन्ने गर्छौ जय नेपाल । जय नेपाल ।।

(लेखक नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका उपसभापति हुनुहुन्छ ।)