बिद्यार्थी संगठनहरुले गराए प्रजिअको ध्यानाकर्षण : प्राकृतिक सम्पदा दोहनको अनुगमन होस्

982

बिद्यार्थी संगठनहरुले गराए प्रजिअको ध्यानाकर्षण : प्राकृतिक सम्पदा दोहनको अनुगमन होस्

रुपन्देहीमा क्रियाशिल ५ बिद्यार्थी संगठनले प्राकृतिक सम्पदाको दोहन रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । रुपन्देही जिल्ला अन्तरगतका तिनाउ, रोहिणी, दानव सहितका नदि नाला तथा चुरे क्षेत्रमा भएको नदिजन्य पदार्थको अनियन्त्रित दोहनले प्राकृतिक सम्पदा बिनास हुँदै गएको बताउँदै ती ५ बिद्यार्थी संगठले यथासिघ्र अनुगमन र आवश्यक प्रकृया अगाडी बढाउन प्रशासनको ध्यानाकर्षण गराएको हो ।
नेपाल बिद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, अखिल क्रान्तिकारीका जिल्ला संयोजक बिष्णु खत्री, अनेरास्ववीयुका जिल्ला अध्यक्ष शंकर घर्ती, समाजवादी बिद्यार्थी युनियनका सचिवालय सदस्य प्रेमबहादुर अर्याल र अखिल (छैठौं)का सचिव सागर वेलवासेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा दैनिक उपभोग्य बस्तु र पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि फिर्ता लिन सरकारसंग माग गर्दै बजार अनुगमन गर्न समेत प्रशासनको ध्यानाकर्षण गराईएको छ । त्यस्तै कोरोना चपेटामा परेकालाई राहतको व्यबस्थापन मिलाउन समेत आग्रह गरिएको छ ।
कोरोना महामारीका कारण हाल शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेको अवस्थामा बिद्यालयहरुले अनलाईन कक्षाको नाममा शुल्क असुल्ने काम गरिरहेको आरोप लगाउँदै यथाशिघ्र अनुगमन गरि सहुलियत उपलब्ध गराउन तथा महामारीको समयमा दैनिक उपभोग्य सामाग्रि लगायत स्वास्थ्य सामाग्रिमा समेत देखिएको कालावजारी नियन्त्रण गर्न र संलग्नलाई कारवाहीको माग गरिएको छ । अन्यथा ससक्त आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिईएको छ ।