मैले पढेको राष्ट्र र राष्ट्रियता

1.5K

मैले पढेको राष्ट्र र राष्ट्रियता

बिमलराज भट्टराई /

हाम्रो प्यारो देश जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक जैविक आदि विविधताले समृद्ध छ । नेपालको संविधान २०७२ ले गरेको परिभाषानुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपालीहरूको स्वरूप नै नेपाल हो भनेर परिभाषित गरेको छ । अर्थातः पहिचानको विविधता देशको अवस्था हो र हाम्रो एकताभित्र विविधता छ भन्ने सत्य स्थापित गरेको छ । जसरी कुनै एक प्लेटमा रहेको सलादमा मिश्रित हरेक चिजले आफ्नो छुट्टै स्वाद र मिठास दिन्छ समग्रमा झन् मीठो स्वाद दिए जस्तै नेपालको बहुपहिचानले सिगारिएको सुन्दर देश हो । ती सबै मौलिक पहिचानहरूको समान महत्व र स्थान छ । सबै एक ठाउमा रमाउदा मात्र नेपाल देश राष्ट्र बन्दछ ।
समाजलाई ध्रुविकरण गरेर विग्रह गर्न चाहने शक्ति समाजमा जहिले पनि हुन्छन् । ति तत्वहरूबाट समुदायका बीचमा पर्खाल लगाउने होईन, पुल निर्माण गर्ने शक्तिको रूपमा खडा हुन काँग्रेसले जनता सामु हरेक मोडमा सदैव आफुलाई उभ्याएको छ । अन्ततः राष्ट्रिय जीवनमा त्यो विविधताको प्रतिविम्ब देखिईरहेको छ ।
जननायक बी.पी. कोइरालाले राष्ट्रियताको परिभाषा दिँदै लेख्नु भएको छ – जनता, जनताको अगाडि उपस्थित समस्या, त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामुहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव गरिएको राष्ट्रिय भावना नै राष्ट्रियता हो । राष्ट्रियता बलियों बनाउन नेपाली काँग्रेसले बारम्बार प्रयास गरेको इतिहास हामीसंग छ । नेपाली कांग्रेसका नेता बीपी कोइरालाले भन्नुभएको छ । सन् १८१६ पछि नेपाल देश बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन, भांडो कुदियो तर त्यसभित्र राखिने तत्व (चिजÞ) राखिएन । शासन संचालनमा जनताको सहभागिता प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको जग पनि यही एउटा मूलभूत सिद्धान्तमा अडेको छ । २००७ सालमा मेची महाकालीका जनताले सामूहिक आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो राष्ट्रियताको उदय भयो । देशव्यापी आधारमा नेपाली जनताले एउटा भावनामा बाँधिएर जनक्रान्ति सम्पन्न गरे । यसले शासन व्यवस्थामात्र फेरेन देशभरि राजनीतिक–सामाजिक संगठनहरू स्थापित भए । जनतालाई नागरिक अधिकार प्राप्त भयो । २००७ सालको जनक्रान्तिले राणाहरूको एकतन्त्रीय शासनमात्र समाप्त पारेन कि नेपाल नेपाली जनताको हो भन्ने भावना ल्यायो । त्यस्तै, २०१५ सालको आमनिर्वाचनले एउटै संसदको निर्माण गर्यो त्यसबाट पनि राष्ट्रियतालाई थप मद्दत पुग्यो । २०१७ सालको महेन्द्र कु पश्चात जनतामा चेतना बढदै गएको पाईन्छ । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताका सम्बन्धमा २०३६ सालको जनमत संग्रहले पनि नेपाली जनतालाई राष्ट्रियताको बारेमा एकताबद्ध गराउने काम गर्यो । २०४६ सालको जनआन्दोलनले त राजनीतिक परिवर्तनमात्र गरेन, राजाले आफ्नो कब्जामा राखेका जनताको सार्वभौम अधिकारसमेत फिर्ता दिलायो । समग्र देशमा राष्ट्रियताको प्रतिबिम्ब छायो– सम्पूर्ण नेपाली अधिकार सम्पन्न भए । आफ्नो शासन आफैँले गर्न पाउने आशा र आधार तयार भएको महसुस भयो ।
२०६२–६३ सालको आन्दोलनले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्यायो । राजतन्त्रको समाप्ति र लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको स्थापना भयो । कथित राष्ट्रिय एकताका प्रतीक मानिदै आएको राजतन्त्रको समुल अन्त्य भएको घोषणा भयो । नेपालको संविधान–२०७२ को भाग १, प्रारम्भिक, धारा ३ राष्ट्रका बारेमा गरिएको परिभाषा (बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो) राष्ट्रभित्रका समस्याको समाधान जनताको सामुहिक प्रयत्न नै राष्ट्रियता हो । एकताको भावना नै राष्ट्रियताका तत्व हुन् । आजको युगमा नेपाली जनता बाँकी विश्वसँग जोडिदा हरेक नागरिकले गर्व गर्न सक्ने राष्ट्रियताको निर्माण अवको आवश्यकता हो । नेपाललाई गरिबीबाट मुक्त गर्दै स्वाभिमानपूर्वक बाँच्न सक्ने देशमा रूपान्तरण गर्न सबैले समर्पित भएर सामुहिक प्रयास गर्नु र राष्ट्रियताको सुदृढिकरणका लागि सर्वाधिक महत्वपूर्ण आधार हुन आउछ । हामीले अविकाससँग जुध्दै सामुहिक उन्नतिको प्रयत्न गर्दा जुन भावना जाग्रित हुनेछ, त्यही नै यथार्थमा राष्ट्रियता हो । यदि हामी कसैबाट नहेपिई स्वतन्त्र भई बाँच्न चाहन्छौ भने हामीले भरोसायोग्य आर्थिक उन्नतिको नेपालीपनको सपना देख्न जरूरी छ । यसलाई पुरा गर्ने सामुहिक प्रयत्न गर्दा हामीमा जुन उर्जा जागृत हुन्छ, त्यही नै राष्ट्रियता हो । त्यसका लागि इमान्दारी, उदारता, सहयोग, जातीय सदभाव आदि भावनासहित अग्रसरता देखाउने नागरिकहरूको सामुहिक ताकत नै राष्ट्रियता हो ।
जय नेपाल !

(लेखक नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका उपसभापति हुनुहुन्छ ।)