बुटवल जेसीजको अभियान : अस्पतालमा खाना, कोरोना प्रभावितलाई राहत

810

बुटवल जेसीजको अभियान : अस्पतालमा खाना, कोरोना प्रभावितलाई राहत

युवाको व्यक्तित्व र नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गर्दै आएको बुटवल जेसीजले कोरोना संक्रमणबाट जुधिरहेका अस्पतालका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई खाना अभियान सञ्चालन गरेको छ ।
दीगो बिकास लक्ष्य कार्यक्रमको शुन्य भोक अन्तरगत कोरोना संक्रमण महामारीका कारण प्रत्यक्ष असर पारेको क्षेत्रमा पौष्टिक आहार सहितका खाना कार्यक्रम सञ्चालन गरिएको बुटवल जेसीजका महासचिव बिनोद घिमिरेले जानकारी गराउनु भयो । बिशेष गरेर जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासको कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि यस पटक महामारीका कारण जेसीजका कतिपय आन्तरिक कार्यक्रम अनलाईन प्रविधिका माध्यमबाट त कतिपय कार्यक्रम स्थगन समेत गरेर महामारी केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गोपालप्रसाद चापागाईले बताउनु भयो ।
उहाँका अनुसार मंगलबारदेखि सुरु गरिएको बिरामी तथा बिरामीका कुरुवा र स्वास्थ्यकर्मीलाई पौष्टिक खाना कार्यक्रम यहि जेठको ३१ गतेसम्म सञ्चालन गरिने छ । जेसीजको यो अभियान अन्तरगत लुम्बिनी प्रादेशिक अस्पताल तथा त्यस मातहतको धोगोकारखाना स्थित कोरोना अस्थायी अस्पतालका बिरामी, त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र बुटवल उपमहानगरपालिका वडा नं. ११ एन्फामा नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा रहेका बिरामी तथा तिनका कुरुवा र ती संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खाना खुवाईने बुटवल जेसीजका कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक हरिबिक्रम कुवँरले बताउनु भयो ।
यो अभियान सकिएपछि दोस्रो चरणमा बुटवल जेसीजले कोरोना महामारीबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरणको कार्यक्रम तय गरेको छ । दोस्रो चरणको कार्यक्रम यहि जेठको ३१ गतेपछि सञ्चालन गरिने महासचिव घिमिरेले बताउनु भयो ।