रोटरी बुटवल साउथद्वारा सियारीको पब्लिक माबिलाई ‘सेनेटरी प्याड ईन्सेनेरेटर मेसिन’

703

रोटरी बुटवल साउथद्वारा सियारीको पब्लिक माबिलाई ‘सेनेटरी प्याड ईन्सेनेरेटर मेसिन’

रोटरी क्लव अफ बुटवल साउथले रुपन्देहीको सियारीको छपियामा रहेको पब्लिक माध्यमिक बिद्यालयमा ‘सेनेटरी प्याड ईन्सेनेरेटर मेसिन’ प्रदान गरेको छ । सियारी गाउँपालिका वडा नं. ४ छपियालाई रोटरी भिलेजको रुपमा त्यहाको सामाजिक तथा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही अनुसार क्लवले त्यसै वडामा रहेको बिद्यालयलाई सेनिटरी प्याड ईन्सेनेरेटर मेसिन प्रदान गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बिच रोटरी क्लव अफ बुटवलका अध्यक्ष प्रेम भुर्तेलले बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो । उक्त मेसिनबाट एकपटकमा ४० वटा सेनेटरी प्याड डिस्पोज गर्न सकिनेछ ।
त्यस अवसरमा बोल्दै रोटरी जोन २० का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताले सामाजिक काममा रोटरी क्लव अफ बुटवल साउथको योगदान उल्लेखनीय रहेको औंल्याउँदै रचनात्मक काममा जोनमै अगाडि रहेको बताउनु भयो ।
उहाँले अहिले कोरोना महामारीका कारण बिद्यालय बन्द रहेको कारण ई–लनिङको आवश्यकता देखिएको बताउँदै अव ग्रामिण बालबालिकालाई कसरी ई–लर्निङमा लैजान सकिन्छ ? त्यसतर्फ पनि बिद्यालयले सोच्नुपर्ने भनाई राख्नुभयो । त्यसलाई रोटरीसंग के कसरी टाईअप गर्न सकिन्छ ? त्यसतर्फ पनि बिद्यालय र रोटरीले पनि सोच बनाउन सुझाव दिनुभयो ।
त्यस्तैगरी क्लवका अध्यक्ष भूर्तेलले बिद्यालयको आवश्यकताको आधारमा क्लवबाट उक्त मेसिन प्रदान गरिएको र सामान सानो भएपनि यसको महत्व बढी भएको उल्लेख गर्दै तत्कालको प्रयोगमात्रै नभएर ग्रामिण बालिकालाई एउटा सिकाई समेत हुने विश्वास व्यक्त गर्नुभयो । क्लवले यस अगाडि पनि सोही बिद्यालयमा पानी चिसो गराउने मेसिन प्रदान गरेको थियो ।
क्लवले प्रदान गरेको उक्त मेसिन ग्रहण गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्रेष्ठले क्लवले बिद्यालयलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै बिद्यालयका प्रधानाध्यापक डिलाराम खनालले क्लवले गरेको सहयोग सानो देखिएपनि यसको महत्वका आधारमा अमुल्य रहेको बताउँदै क्लवले गरेको सहयोगलाई भ्यालुलेस हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले क्लवले यस अगाडि प्रदान गरेको पानी चिसो बनाउने मेसिन अहिले पनि प्रयोगमै रहेको समेत जानकारी गराउनु भएको थियो ।
त्यस अवसरमा क्लवका सर्भिस प्रोजेक्ट डाईरेक्टर किशोर गौतम, आर्थिक सहयोग गर्ने संस्था शाईन रेसुङ्गा बैंक सियारी शाखाका प्रवन्धक राजु शर्मा सचिव शारदा पंगेनी लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा सिटिजन्स ईन्टरनेशनल बैंकका अफिसर अर्जुन पौडेल, क्लवका सदस्यहरु किशु शर्मा, नवराज पंगेनी, रोटरी क्लव अफ भैरहवाका दुस्यान्त थापा लगायतको सहभागिता रहेको थियो ।
त्यसै अवसरमा रोटरी सामुदायिक भिलेज छपियामा ईन्फरमेशन (जानकारीमुलक) बोर्ड समेत राखिएको थियो । उक्त मेसिन खरिदमा शाईन रेसुङा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक सहयोग गरेको क्लवले जनाएको छ ।