नियमित रक्तदानको १०० औं श्रीङ्खला : ८ वर्षमा २० हजार युनिट बढी रगत संकलन

758

नियमित रक्तदानको १०० औं श्रीङ्खला : ८ वर्षमा २० हजार युनिट बढी रगत संकलन

नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले २०६९ चैतदेखि सुरु गरेको नियमित रक्तदानको १०० औं श्रीङ्खलामा आईपुग्दासम्म २० हजार युनिट भन्दा बढी रगत संकलन गरिएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले नियमित रुपमा रक्तदान गर्दै आएको छ । शनिबार नियमित रक्तदानको १०० औं महिना पुरा भएको हो ।
२०÷२१ जनाको भेलाबाट स्वयमसेवी रक्तदाता समाज गठन गरेको यो अभियानमा अहिले ५ सय भन्दा बढी युवा जोडिएका छन् भने सरदर १ हजारको संख्या नियमित (प्रत्येक ३ महिनामा) रक्तदानमा सहभागि हुन्छन् । समाजमा आजिवन सदस्य लिएको संख्या ५ सय बढी रहेको समाजका जिल्ला अध्यक्ष कृष्ण चौहानले बताउनु भयो । उहाँका अनुसार त्यसबाहेक सोही संख्यामा नियमित रक्तदान गर्नेछन् ।
रगत नपाए बुटवल आउनु भन्ने सन्देश प्रवाह गरेको समाजले रुपन्देही सहित मागभई आएका स्थानमा समेत रगतको प्रवन्ध मिलाउँदै आएको छ । बिशेष गरेर २०७२ को भूकम्पपछि काठमाण्डौमा रगतको अभाव भएको थियो, त्यसवेला समाजकै व्यबस्थापनमा ३१५ युनिट रगत काठमाण्डौ पठाईएको थियो ।
त्यस्तै डेंगुका बिरामीलाई पनि पिआरपि (रक्ततत्व) आवश्यक हुन्छ । त्यसमा ताजा रगत चाहिन्छ । रुपन्देहीमा डेंगुका महामारी हुँदा पनि समाजले रगतको आपूर्ति सहज बनाउनको लागि बिशेष भूमिका खेलेको थियो । अहिले मुलुक कोरोना भाईरस महामारीसंग जुधिरहेको छ । जसका कारण रक्तदान कार्यक्रम गर्न सहज नहुँदा रगत संकलन कार्य समेत प्रभावित भएको छ । यस्तो महामारीको बेलामा पनि रगतको आपूर्ति सहज गराउनको लागि समाजले भूमिका खेल्दै आएको छ ।
बिशेष गरेर पहिलो भेरियन्टको कोरोना भाईरस संक्रमणको समयमा कोरोना बिरुद्ध प्लाज्मा थेरापी उपयोगि मानिएको थियो । अध्यक्ष चौहानका अनुसार त्यो बेला कोरोना निको भएका करिव ४ सय जनाको प्लाज्मा दान गराईएको थियो ।
यस बिचमा समाजले रक्तदान प्रवद्र्धनका कार्यक्रम समेत सञ्चालन गरेको छ । ‘स्टार्ट १८ स्टार्स टिम’ गठन गरि सोही टिम मार्फत रक्तदान आरम्भको अभियान चलाएको हो । १८ वर्ष पुगेका युवायुवती लक्षित यो कार्यक्रम रक्तदान गर्न उमेर पुगेका युवायुवतीलाई प्ररणा र हौसला प्रदान गर्नुको साथै रक्तदानलाई प्रवद्र्धन गर्ने उहाँले बताउनु भयो ।
समाजले त्यो भन्दा पनि महत्वपूर्ण रगतमा लिईने सेवा शुल्क निःशुल्क गराउन पैरवी समेत गर्दै आएको थियो । सोही अनुसार रुपन्देहीको देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाले नगरबासीलाई निःशुल्क गराएको थियो भने अहिले लुम्बिनी प्रदेश सरकार रगतमा लाग्ने सेवा शुल्कलाई निःशुल्क बनाउन घोषणा सहित बजेट समेत व्यबस्था गरिसकेको छ ।


समाजले शनिबार बिहान रक्तसञ्चार सेवा केन्द्र बुटवलमा १०० औं श्रीङ्खलाको रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले कसैले रक्तदान गर्ने मात्रै नभएर उसले दिएको रगतले अर्कोको ज्यान बचाउने भएकाले यसको महत्व अति नै भएको उल्लेख गर्नुभयो । उहाँले अहिले लुम्बिनी प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको रक्तसञ्चार सेवा केन्द्रका भवन सार्ने तयारी भईरहेको बताउँदै यसलाई सबैको सहज पहुँचमा व्यबस्थापन गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले समाजले गरेको योगदानका कारण रगतको आपूतिमा सहज हुँदै गएको बताउनु भयो । त्यस्तै नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष ध्रुवराज थपलियाले समाज नभएको भए रक्तसञ्चार सेवा केन्द्र र अस्पतालका अपरेशन थियटर समेत चल्दैन्थ्यो भन्नुभयो । समाजकी तुलसा न्यौपाने सिंहको संयोजनमा भएको कार्यक्रममा कार्यक्रम सहयोगी कल्पना सिवाकोटी, समाजका उपाध्यक्ष भीष्म केसी, सचिव उदय भट्टराई लगायतले भनाई राख्नुभएको थियो । यसै सन्दर्भमा समाजको ओमसतिया शाखाले पनि आजै ओमसतियामा रक्तदान गरेको छ । त्यसै अवसरमा ११० पटक रक्तदान गरेका समाजका केन्द्रीय उपाध्यक्ष थपलियालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।